सुरक्षित वैदेशिक रोजगारीका लागि धुनीवेशी नगरपालिकाले रिटर्नी स्वयमसेवक राख्ने

 माघ २४, २०७६ शुक्रबार ११:३५:३१

धादिङ – धादिङको धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले सुरक्षित वैदेशिक रोजगारीका लागि सबै मिलेर अघि बढ्ने बताउनुभएको छ ।

सुरक्षित वैदेशिक रोजगारीको विषयमा बिहीबार नगर कार्यसमितिका सदस्यहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा युवाको सुरक्षित वैदेशिक रोजगारीको जिम्मेवारी पालिकाको भएको भन्दै उहाँले अबको केही दिनमा रिटर्नी स्वयमसेवक राखिने जानकारी दिनुभयो ।

कार्यक्रममा धादिङको चार वटा पालिकामा सञ्चालन भएको सुरक्षित आप्रवासन सामी परियोजनाको गतिविधि र आउँदो रणनीतिको बारेमा पनि नगर कार्यसमितिका सदस्यलाई जानकारी गराइएको थियो ।

सुरक्षित वैदेशिक रोजगारीका लागि जनप्रतिधिको भूमिका र विप्रेषणको सही सदुपयोगका लागि वित्तीय साक्षरता कक्षाको महत्वका विषयमा छलफल भएको थियो ।

धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपमेयर निरु खरेल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, वडाध्यक्षहरु, नगर कार्य समितिका सदस्यहरुको सहभागिता थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया