बच्चाको रहर, आमाको बाध्यता : कता हरायो यात्रुको सभ्यता ?

 माघ २७, २०७६ सोमबार १२:२४:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

कीर्तिपुर - लगनखेल चल्ने पहेंलो बस । नाम बस भए पनि बस्नेभन्दा धेरै उठ्ने र झुण्डिने हुन्छन् । बसमा मुश्किलले १६ जनालाई बस्न पुग्छ । चालकको छेउमा दुईजना । पछिल्तिर १४ जना । 

त्यसमा पनि अगाडिका दुई सिट महिलाको, पछिल्तिरका दुई सिट अशक्तको, त्यसपछिको दुई सिट ज्येष्ठ नागरिकको । महिला लेखिएको सिटमा मात्रै होइन, त्योभन्दा पछिल्तिरको सिटमा पनि प्रायः महिला नै बसेका हुन्छन् ।

त्यहाँभन्दा पछाडि रहेको दुई सिटको माथि चाहिँ कलेज पढ्ने ठिटाठिटीहरुले युवा सिट भनेर लेखेका छन् । प्रायः त्यो सिटमा ठिटाठिटीहरु नै हुन्छन् । अनि बाँकी पछिल्तिरका चार सिट पनि अरु ठिटाठिटीको कब्जामा रहन्छ । अघिल्तिर ढोकापट्टि लहरै दुई सिट बाँकी हुन्छ । त्यहाँ पनि प्रायः महिला नै बसेका हुन्छन् । 

कीर्तिपुर र लगनखेलबाट छुट्ने बेलामै बसमा यात्रुको ठेलम्ठेल भैसक्छ । बीचबाट चढ्नेले बस्ने ठाउँको त परको कुरा, राम्रोसँग उभिने ठाउँ पनि पाउँदैन । सिटमा बसेको मान्छे बीचतिर झर्यो भने त्यही सिट नजिकै कक्रक्क भएर उभिरहेकोले सन्तुष्टीको सास फेर्छ । 

काठमाण्डौका अरु धेरै रुटमाजस्तै कीर्तिपुर-लगनखेलको बस चढ्ने मजस्ता धेरैको सामान्य भोगाई हो यो । यो सामान्य र दैनिक भोगाईमा थरिथरीका घटनासँग साक्षात्कार हुनुपर्छ । आइतबारको यात्रामा भोगेको सामान्य एउटा घटना चाहिँ मेरो मनमा गढेर बसेको छ ।

धोवीघाटमा ५ मिनेटजति पर्खिंदा लगनखेलबाट बस आयो भने चढ्ने, नत्र हिँड्ने मेरो पुरानो बानी । त्यसैले प्रायः हिँडाईमा परिन्छ । आइतबार चाहिँ उभिएको दुई मिनेटमै बस आइपुग्यो । सँगै एउटी महिला थिइन्, काखमा बच्चा बोकेर उभिएकी । बस रोकियो । अरु दिनजस्तो उभिने मान्छे धेरै रहेनछन् । 

जम्मा ६ जना मात्रै । सजिलोसँग उभिनु पाउनु पनि ठूलो कुरा । सिट पाइन्छ भनेर आश गर्नु त बेकार । तर आमाको काखमा रहेको बालकलाई यस्तो कुरा के थाहा ? 

ढोकाबाट उक्लनेबित्तिकै आमासित भन्यो, ‘अगाडि बस्ने ।’

ड्राइभरकै छेउमा एकजना अट्ने सिटमा अटेसमटेस गर्दै दुईजना बसेका छन् । अगाडि त के पछिल्तिर पनि कतै बस्ने ठाउँ छैन । अघिल्तिर महिला लेखेको सिट, त्यसपछि अपांगता लेखेको सिट, त्यस पछिल्तिरको ज्येष्ठ नागरिक लेखिएको सिटमा सबै महिला र किशोरी बसेका छन् ।

‘युवा सिट’मा कलेज पढ्ने जोडी छन् । बाँकी केही नलेखिएको सिटमा पनि प्रायः महिला नै । पछिल्तिरको सिटमा पनि कलेजकै ठिटाठिटी छन् । ढोका पछिल्तिरको दुई सिटमा अधवैंशे पुरुष उँघिरहेका छन् ।

बच्चाले अगाडि बस्ने भनेपछि आमाले सिट पाउने आशमा अघिल्तिर हेरिन् । चालकको छेउमा बसेका दुई युवाले घोसे मुन्टो लगाए । आमाले अघिल्तिर महिला लेखिएको सिटतिर हेरिन् । कलेज पढेर फर्किएकी एक किशोरी र अर्की अधवैंशे महिला थिइन् । उनीहरुले पनि सुनेको, नसुन्यै गरे । 

महिलाको सिटमा बस्ने पनि महिला । बच्चा बोकेर बस्ने सिटको आश गर्ने पनि महिला । महिलाको सिटमा महिला नै बसेका छन् । नियम त मिचिएको छैन । 
तर यस्तो अवस्थामा बच्चा बोकेर उभिने महिलाले मात्र होइन, कोही बिरामी पुरुष नै भए पनि महिला लेखिएको सिटमा बस्न पाउनुपर्ने हो ।

पहिल्यै सिटमा बसेर आएको मान्छे उभिएरै यात्रा गर्न सक्ने हालतमा छ भने बच्चा बोकेकी महिला र बिरामी पुरुषलाई सिट छोडिदिनुपर्ने हो । कोहीकोहीले छोडिदिन्छन् पनि । तर अचम्म, आमाको काखमा बसेर अगाडि बस्छु भनेर सानो बच्चाले भनेको सुन्दा पनि सिटमा बस्ने कसैले वास्ता गरेनन् ।

न महिला लेखिएको सिटमा बसेकी हट्टाकट्टा किशोरी उठिन् । न त ड्राइभरको छेउमा बसेका जवान युवाले नै ठाउँ छोडे । पछिल्तिर रहेका जोडीको त के कुरा, रोज डे र चकलेट डे मनाएर अरु डेको प्रतीक्षामा टाँसिएर गफ गरिरहेका ! आमासँगै बसको अघिल्तिर बस्ने बच्चाको रहर पूरा हुने छाँट देखिएन । मेरो दिमागमा बच्चाले अघि भनेको त्यही कुरा घुमिरह्यो –‘अगाडि बस्ने ।’ 

बसमा अगाडि बस्नुको मज्जा बेग्लै हुन्छ । त्यो पनि बच्चालाई अझ बढी रहर हुन्छ । ड्राइभरको छेउमै बसेर अगाडि हेर्दा बस नै आफूले चलाएजस्तो लाग्छ । शायद यो बालकलाई पनि यस्तै रहर थियो, आमाको काखमा बसेर आफैंले बस चलाएजस्तो अनुभव गर्ने ।

आफ्नो सामान्य रहर पूरा गर्न पाउनु बच्चाको अधिकार हो । बच्चाको मात्रै होइन, बच्चा बोकेको बेला सिटमा बस्न पाउनु आमाको पनि अधिकार हो । यति अधिकार पूरा गराउन सार्वजनिक बसमा सरकारी निकाय नै हुनुपर्ने त होइन ।

सिटमा बसिरहेको यात्रुले सामान्य विवेक, आदर, सम्मान र अनुशासन पुर्याउँदा पूरा हुने कुरा हो । तर आदर, सम्मान, अनुशासन र विवेकको के कुरा, थोरै मानवीयता पनि कसैले देखाएन ।

अगाडि बस्न रहर गर्ने बच्चा आमाको काखमा झोक्राइरहेको छ । बच्चा बोकेकी आमा डन्डी समातेर मुश्किलले उभिरहेकी छिन् । बल्खु पुगेपछि बस रोकियो । ड्राइभरसँगैको सिटमा रहेका दुई जना झरे । अघिल्तिरको सिट खाली भयो । मनमा थोरै आश जाग्यो । अरु कोही बस्लान् भनेर मैले हत्तपत्त ती महिलालाई भनें, ‘जानुस् न अगाडि गएर बस्नुस् ।’ 

तर उनी बल्खुबाट एक मिनेट परको टीयू गेटमा झर्ने रहिछिन् । ‘म त अब झर्ने बेला भयो, बस्न नपाउँदै उठ्नुपर्छ, तपाईं बस्नुस्’ उनले भनिन् । आमा नबसेर के भयो र यो बच्चाको रहर म पूरा गर्छु भन्ने लाग्यो, अनि अगाडि बसें । आमाको काखमा रहेको बच्चालाई भनें, ‘अगाडि बस्ने हैन, आउ ।’

बच्चा मख्ख पर्दै मेरो काखमा बस्यो । एकछिन बस्न नभ्याउँदै उसको झर्ने बेला भयो । ‘ल अंकललाई बाई भन’ आमाले मेरो काखबाट बच्चा तान्दै भनिन् । केटो मलाई हात हल्लाउँदै आमाको काखमा गयो । 

अगाडि बस्ने बच्चाको रहर त पूरा भयो । तर सार्वजनिक बसमा हामी किन सामान्य सभ्यता पनि देखाउन सक्दैनौं भन्ने मेरो जिज्ञासा चाहिँ पूरा भएको छैन ।  

अन्तिम अपडेट: बैशाख ३१, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Nakul

    Feb. 10, 2020, 4:12 p.m.

    कीर्तिपुर - लगनखेल चल्ने पहेंलो बस को गुरुजी को हाइड्रोलिक ढोका !!

  •  0 Reply

तपाईको प्रतिक्रिया