जानकी मन्दिरपछाडि ६ दशक पुरानो मदरसा : सरकारी उदासीनताको शिकार

 माघ २९, २०७६ बुधबार १४:५१:११ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को राजधानी जनकपुरधाममा ‘अलजामेअतुल हनफियतुल गौसिया’ नामक मदरसा छ । प्रदेश २ मै यो मदरसा उर्दू शिक्षाको प्रमुख केन्द्र हो । विश्व प्रसिद्ध जानकी मन्दिरको ठिक पछाडि रहेकोले यस मदरसालाई धार्मिक सहिष्णुताको अद्भूत केन्द्र पनि मान्न सकिन्छ । यहाँ एकाबिहानै जानकी मन्दिरमा भगवानको प्रार्थना गुञ्जिरहेको हुन्छ भने अर्कोतर्फ मदरसासँगै जोडिएको मस्जिदमा नमाजको स्वर सुन्न पाइन्छ । तर सरकारी बेवास्ताका कारण मदरसाको अवस्था दयनीय छ ।    

वि.सं. २०१२ सालदेखि यो मदरसा सञ्चालनमा छ । २०६५ सालमा जिल्ला शिक्षा कार्यालयबाट यसले सरकारी मान्यता पनि प्राप्त गरेको छ । तर मदरसामा हालसम्म एक जना पनि शिक्षकको दरबन्दी छैन । सरकारबाट सामुदायिक विद्यालयले पाउने अन्य सेवा सुविधाबाट समेत मदरसा वञ्चित रहदै आएको छ । सरकारी उदासीनताकै कारण मदरसाका विद्यार्थीले पोसाक र दिवा खाजा पनि पाएका छैनन् ।

सामाजिक सहयोग र मुस्लिम समुदायले प्रदान गर्ने ‘जकात’ र ‘फतुवा’बाट सञ्चालनमा रहेको मदरसालाई सरकारबाट कक्षा २ सम्मको मान्यता प्राप्त छ । निजी स्तरबाट भने ‘फजिलत’ अर्थात् स्नातकोत्तरसम्म पढाइ हुँदै आएको छ । मदरसामा कक्षा २ सम्म १ सय २१ र कक्षा २ भन्दामाथि निजी स्तरबाट सञ्चालन हुने मौलवी अर्थात् कक्षा १० दशसम्ममा सय जना गरी कुल २ सय २१ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ५० जना छात्रा छन् । अन्य विद्यालयबाट उर्दू अध्ययन गर्न ५० जना छात्रा मदरसामा आउने गरेको प्रधानाध्यापक शेख नइमले बताउनुभयो ।

उर्दु शिक्षाको आकर्षण घटिरहेको समयमा पछिल्लो शैक्षिक सत्रको तुलनामा यस सत्रमा मदरसामा विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलालुद्दिन खान बताउनुहुन्छ ।

उहाँका अनुसार शैक्षिक सत्र २०७४-०७५ सम्म मात्र २५ विद्यार्थी थिए । तर पछिल्लो वर्ष आफूहरुको प्रयासबाट ९६ जना विद्यार्थी थपिएको खानको भनाइ छ । मदरसामा विगत दुई वर्षदेखि व्यवस्थापन समितिको प्रयासमा उर्दू शिक्षाका साथै नेपाली र अङ्ग्रेजीलगायतका नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार पठनपाठन भइरहेको छ । 

मदरसामा प्रदेशका आठ वटै जिल्लाका विद्यार्थी 

प्रदेशकै पुरानो मदरसामा प्रदेशका ८ वटै जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक नईमको भनाइ छ । उहाँका अनुसार कक्षा २ भन्दामाथिको ‘फजिलत’ शिक्षा हासिल गर्न धनुषाभन्दा अन्य जिल्लाका विद्यार्थीहरु बढी आएका छन् । मदरसाभित्रै छात्रावासको व्यवस्था छ । बाहिरबाट आएका विद्यार्थीहरुलाई  मदरसामै बस्ने र खाने प्रबन्ध गरिएको छ ।

उर्दु शिक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि सरकारी सेवा प्रवेशमा कुनै व्यवस्था नभएको कारण त्यहाँबाट मौलवी शिक्षा अर्थात् कक्षा १० पास गरेका विद्यार्थी प्रदेशका विभिन्न जिल्लासहित पोखरा, काठमाण्डौ र नेपालगञ्जलगायतका सहरमा निजी स्तरमा नमाज, ताबिर र मदरसामा पढाउन जाने गरेका छन् । 

प्रधानाध्यापक नईमले पनि त्यही मदरसाबाट मौलवी उत्तीर्ण गर्नुभएको छ । उहाँका अनुसार यहाँबाट अध्ययन गरेका विद्यार्थीहरु नेपालका विभिन्न मस्जिदमा नमाज र मदरसामा ‘ताबिर’ र कक्षागत अध्यापन गराउँदै आएका छन् ।

शिक्षकलाई सामाजिक स्तरबाट तलब 

‘शिक्षक दरबन्दी र सरकारबाट प्राप्त हुने सेवासुविधा उपलब्ध गराउन सरकारी कार्यालय धाउँदा धाउँदा हैरान भइसकेँ तर अहिलेसम्म केही हासिल हुन सकेको छैन ।’ प्रधानाध्यापक नईमले भन्नुभयो । देश संघीयतामा गएपछि स्थानीय तहमा निवेदन दिएपनि केसैले चासो नलिएको नईमको दुखेसो छ ।

मदरसालाई शिक्षक दरबन्दी र सरकारी सुविधा किन उपलब्ध नगराइएको भन्ने जिज्ञासामा शिक्षा समन्वय एकाइ धनुषाका प्रमुख बर्खुप्रसाद रजकले माविसम्मको शिक्षासम्बन्धी क्षेत्राधिकार स्थानीय तहमा गइसकेकोले शिक्षक दरबन्दी र अन्य सेवा सुविधा सम्बन्धित स्थानीय तहले पूर्ति गर्नुपर्ने बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘त्यो मदरसाले शिक्षक दरबन्दीका लागि पछिल्लो वर्ष निवेदन दिएको हो । हामी व्यवस्था गर्न लागेका छौँ ।’ उहाँका अनुसार नगरभित्रका अन्य मदरसाका लागि पनि सरकारी सेवा सुविधा र शिक्षक दरबन्दीको व्यवस्था गरिने छ र त्यसका लागि विद्यालयसम्बन्धी कानुन संशोधन गरी कार्य अघि बढाइनेछ ।

मदरसामा प्रधानाध्यापक नईमसहित ७ जना शिक्षकलाई सामाजिक स्तरबाट तलब दिइएको छ । विराटनगर घर आएका प्रधानाध्यापक गत १६ वर्षदेखि १० हजार रुपैयाँ पारिश्रमिक लिएर पढाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘उर्दु भाषा हराएर नजाओस् भन्ने उद्देश्यका साथ कम पारिश्रमिक भएपनि मैले काम गर्दैआएको छु ।’

भौतिक पूर्वाधारमा सुधार गरिँदै

नेपाल–बङ्गलादेशको सहयोगमा निर्मित ४ कोठे भवनमा सञ्चालन हुँदै आएको मदरसाको भौतिक पूर्वाधारमा सुधार गरिँदै छ ।

विद्यालय व्यवस्थापन समितिबाट मदरसा सञ्चालनमा आएदेखि सामाजिक रुपमा उठेको जकात (चन्दा) बाट दुई तल्ले दुई वटा भवनमा कक्षा कोठासहित छात्रावास थपिएको छ । प्रदेश सरकारले पछिल्लो वर्ष शौचालय निर्माण गर्न सहयोग गरेको थियो । तैपनि विद्यार्थीको संख्याको आधारमा भौतिक संचरना अपुग रहेको व्यवस्थापन समितिका अध्यक्ष खानको भनाइ छ ।

भवन थपिए पनि कक्षा कोठाको अभावमा विभिन्न सत्र सञ्चालन गरी रातिसमेत कक्षा सञ्चालन सञ्चालन गरिँदै आइएको छ । बाहिरबाट आएका शिक्षकहरुसमेत सोही छात्रावासमै बस्दै आएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा गौसिया मदरसासहित एक दर्जनभन्दा बढी मदरसा छन् भने धनुषा जिल्लामा जम्मा ७२ वटा मदरसा छन् । तर ती सबैको अवस्था दयनीय छ । दरबन्दीअनुसारको शिक्षक अभावका साथै सरकारी सेवा सुविधाबाट पनि सबै मदरसा वञ्चित छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया