‘रेडियो सुन्नेको संख्या घटेको हैन, सुन्ने शैली फेरियो’

 फागुन १, २०७६ बिहिबार १८:२४:३४ | मदन पौड्याल
unn.prixa.net

काम गर्दा पनि सुन्न मिल्ने, विपद्का बेला पनि सूचना र समाचारका लागि भरपर्दो माध्यम भनेकै रेडियो हो । खर्चिलो पनि नहुने अनि बिजुली नपुगे पनि सहजै बज्ने रेडियो हरेक नागरिकको पहुँचमा छ ।

बिहीबार रेडियो दिवस मनाइरहँदा रेडियोको विशेषता, पहुँच र चुनौतीको विषयमा बहस भएको छ । विश्वमा रेडियो प्रसारण सुरु भएको पनि ठ्याक्कै सय वर्ष भएको छ । नेपालमा २००७ साल मंसिर २८ गते विराटनगरबाट प्रजातन्त्र रेडियो औपचारिक रुपमा सुरु भएको हो । रेडियो नेपाल २००७ साल चैत २० गते तथा एफएम रेडियो २०५२ साल फागुन १० गतेबाट बज्न थालेको हो ।

नेपालमा इजाजत प्राप्त एफएम रेडियोको संख्या ७ सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्याङ्क छ । इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोग र पहुँचले रेडियो कस्ले सुन्ला ? भन्ने प्रश्न उठ्न थालेको छ । तर नेपालमा अहिले नै रेडियो विस्थापित हुने अवस्था भने छैन । प्रविधिको विकाससँगै सूचना र मनोरञ्जनको लागि सामाजिक सञ्जाल र अनलाइनको प्रयोग बढ्दैछ । तर रेडियोको सार्थकता र प्रभावकारिता भने घटेको छैन ।

सहज माध्यम

रेडियो सूचना र सञ्चारको निकै सहज माध्यम हो । घर घरमा, गोठबारीमा रेडियो घन्काउँदै काम गर्नेहरु अहिले पनि उत्तिकै छन् । नेपाल जस्ता विकासोन्मुख देशका कुना कुनामा खुलेका रेडियोले बजाउने स्थानीय सामाग्रीका कारण बहुसंख्यक नागरिकले आफ्नो आवाज रेडियोसम्म पुर्‍याउन पाएका रेडियो अभियन्ताको बुझाइ छ ।

अभियन्ता रघु मैनाली भन्नुहुन्छ,‘रेडियोकै कारण थोरै जनसंख्या भएका जातजाति, भाषा र धर्मका समुदायले पनि आफ्नै भाषा र रोजाइका सामाग्री रेडियोबाट सुन्न पाएका छन् ।’ टेलिभिजन, पत्रपत्रिका र इन्टरनेट नपुग्ने ठाउँमा त रेडियोको विकल्प नै छैन । 

सुनाउने माध्यम

सरकारबाट प्रसारण अनुमति पाएका ७ सय ४० वटै रेडियो प्रसारणमा नभए पनि धेरैजसोले प्रसारण गरेका छन् । तीमध्ये अनलाइनमा समेत सुन्न सकिने, अनि मन परेका कार्यक्रम डाउनलोड गरी सुन्ने प्रविधिमा गएका छन् । सूचना प्रविधिका विभिन्न माध्यमको विकाससँगै रेडियो सुन्ने शैली फेरिएको छ ।

पहिले रेडियो सेटमा मात्रै बज्ने रेडियो अहिले मोबाइल, इन्टरनेट, एप्लिकेसन, फेसबुक, ट्विटरलगायत माध्यमबाट सुनिन थालेको छ । नयाँ प्रविधि अनुकूल आफ्नो सेवा विस्तार गर्न सफल भएका रेडियोले स्रोता कमाउन सफल छन् ।

तथ्याङक

पाँच वर्षमा भएका पाँचवटा सर्वेक्षणले रेडियोका स्रोता जहाँ थिए, त्यहीँ छन् भन्ने तथ्याङक आएको छ । पछिल्लो सर्वेक्षणबाट ४९ प्रतिशत नेपालीले नियमित रेडियो सुन्ने गरेको पाइएको छ ।

३७ प्रतिशतले हप्तामा कहिलेकाहीँ र १३ प्रतिशतले महिनामा केही समय रेडियो सुन्ने गरेका छन् । रेडियो सुन्ने माध्यम पनि छुट्टाछुट्टै छन् । अहिले नेपालको जनसंख्या भन्दा मोबाइलको संख्या धेरै छ । तथ्याङ्क अनुसार नेपालको जनसंख्या तीन करोड पुगिसकेको छैन । तर तीन करोड २८ लाख मोबाइल प्रयोग भैसकेको छ ।

धेरैले आफ्नै मोबाइल फोनको प्रयोग गरी रेडियो सुन्न थालेका छन् । किनभने तथ्याङ्कमा २७ प्रतिशत घरधुरीले मात्रै रेडियो सेट राख्ने गरेका पाइएको छ । तर ७१ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट नै सूचना तथा समाचारका लागि समेत माध्यम बनेको छ । त्यसैले पनि रेडियो सुन्ने शैली बदलिएको छ । 

फेरिँदो प्रविधिमा ढाल्नुपर्ने चुनौती

बदलिँदो परिवेशमा रेडियो कार्यक्रम एयरफोन लाउनेलाई या स्पिकरमा रेडियो सुन्नेका लागि हो भनेर छुट्याउनुपर्ने बेला आएको शेयरकास्टका कार्यकारी प्रमुख मधु आचार्य बताउनुहुन्छ । तर रेडियोको सबल पक्ष बिहान प्रतिस्पर्धी माध्यम छैनन् ।

झण्डै ८० प्रतिशत स्रोताले बिहान र बेलुका मात्रै समाचार सुनेको बताएकाले रेडियोले थोरै सुधार गरे पनि धेरै स्रोता कमाउन सक्ने अवस्था छ । रेडियोका कार्यक्रमहरू इन्टरनेट तथा मोबाइल फोन प्रयोगकर्ता लक्षित हुनुपर्नेमा ध्यान दिनुपर्ने देखिएको छ । 

रेडियोका स्रोता अब रेडियो सेटमा नै भरपर्ने अवस्था छैन । त्यसैले स्रोता घटेर रेडियो बन्द हुने भन्दा पनि फेरिँदो प्रविधिमा ढाल्न नसक्दा समस्या देखिन्छ । न्यू मिडियालाई नै प्रयोग गरी रेडियोले अझ फैलने र स्रोताको मन जित्ने मौकालाई सदुपयोग गर्न सक्नुपर्छ । रेडियोबाट प्रसारण हुने कार्यक्रम स्रोताको दैनिक आवश्यकता र चाहनामा जोड्नुपर्छ भन्नुहुन्छ पत्रकारिताका प्रशिक्षक विनोद भट्टराई ।

आपत विपदमा सूचना प्रवाह गर्न रेडियोको भूमिका जति धेरै प्रभावकारी हुन्छ अरु बेला पनि स्रोता लक्षित कार्यक्रममा ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

अन्तिम अपडेट: फागुन ११, २०७६

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया