कुवेतमा ज्यान गुमाएकामध्ये दुई नेपालीको पहिचान खुल्न बाँकी, कुवेतका राजाद्वारा दुःख व्यक्त

 फागुन २, २०७६ शुक्रबार १५:१३:१२ | राजकुमार बडुवाल

कोशराज/राई कुवेत ।

कुवेत – कुवेतमा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएकामध्ये दुई जना नेपालीको पहिचान खुल्न आइतबारसम्म कुर्न पर्ने भएको छ ।

शुक्रबार र शनिबार सार्वजनिक विदा परेको र औंठाछापको माध्यमबाट शवको पहिचान गर्नुपर्ने भएकाले आइतबारसम्म कुर्नुपर्ने नेपाली दूतावास कुवेतका द्वितीय सचिव जानकी ओझाले जानकारी दिनुभयो ।

बुधबार बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकोमा चारजनाको मात्र सनाखत भएको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको परिचय खुलेको दूतावासले जनाएको छ । धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् ।

घाइतेमध्ये शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपछि कम्पनीमा फर्केको दूतावासले जनाएको छ । यसैबीच कुवेतका राजा शेख सवाह अल अहमद अल जवर अल सवाहले नेपाली श्रमिकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र श्रमिकका परिवारलाई समवेदना सन्देश पठाउँदै दुःख व्यक्त गर्नुभएको हो । घाइते श्रमिकको शिघ्र स्वास्थय लाभको कामना गर्दै राजा अल सवाहले मृतकका परिवारप्रति समवेदना प्रकट पनि गर्नुभएको छ ।

नेपाली श्रमिक कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दूरीमा पर्छ । घटनाको विषयमा छानबिन भइरहेको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया