प्रचण्डको उत्तेजना फैलाउने स्वभाव छ, तर गिरिजाको प्रसङ्ग आंशिक सही हो : नेता भट्टराई

 फागुन २, २०७६ शुक्रबार १९:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ ।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सानो कुरालाई बढाइचढाइ गर्ने प्रचण्डकाे बानी छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म पनि हुँ । उहाँहरुले शान्तिपूर्ण ढङ्गले र हामीले फौजी ढङ्गले प्रहार गर्ने सहमति भएको थियो । हामीले युद्धविराम भङ्ग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ‘ठोक्नुपर्याे’ भनेर चाहिँ भन्नुभएको हो ।’

१२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उहाँले बताउनुभयो । 

‘लौन कारबाहीअगाडि बढाउनुपर्याे भनेर उहाँले भनेको हो म पनि साक्षी थिएँ । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन बिथोल्न अलिअलि फौजी कारबाही बढाउनुपर्याे चाहिँ भन्नुभएको हो ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह‌ले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताउनुभयो । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा प्रचण्डले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उहाँले भन्नुभयो ।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारबाही बढाउन आग्रह गरेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया