मोबाइल, फेसबुक हुँदा र नहुँदाको लभ

 फागुन ३, २०७६ शनिबार ७:५०:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

प्रेम दिवस मनाउन व्यस्त एक किशोरी गिफ्ट पसलमा पुगिन् । 
पसलेसँग सोधिन् : साहुजी ‘तिमी नै मेरो पहिलो र अन्तिम प्रेम’ लेखिएको कार्ड पाइन्छ ?
पसलेले भने : पाइन्छ ।
किशोरीले सोधिन् : एउटाको कति पैसा ?
पसलेले भने : ५० रुपैयाँ ।
किशोरीले भनिन् : १५ वटा दिनुस्, न ६ सयमा ।
.........
चुट्किला होइन, भएकै घटना यो । फेसबुक र मोबाइल आइसकेपछि विकसित भएको प्रेमको रुप । फेसबुक र मोबाइल त एक, दुईजनासँग मात्र सीमित हुँदैन । धेरै जनासँग हुन्छ । त्यसैले प्रेम पनि एक दुई जनामा सीमित हुने कुरा भएन । 

यति मात्र हो र ! फेसबुकले श्रीमान श्रीमतीलाई पनि भ्यालेन्टाइन डे मनाउन बाध्य पारेको छ । मन अर्कोतिर भए पनि बाध्यताले बुढाबुढीको फोटो राखेर ह्याप्पी भ्यालेन्टाइन डे भन्नेहरु धेरै देखिए ।

एकदिन अर्धवार्षिक परीक्षामा लेख्दालेख्दै सीताको डटपेनमा मसी सकियो । रामले मौकामा काम लाग्छ भनेर अर्को डटपेन पनि बोकिरहन्थ्यो । सँगै परीक्षा दिइरहेकी सीताको डटपेनको मसी सकिएपछि उसले हत्तपत्त आफ्नो डटपेन दियो । त्यो दिनको जाँच सकिँदा सीतालाइ  राम मन पर्न थाल्यो । दुवैको लभ पर्‍याे ।

अघिल्लो हप्ताभर ठिटाठिटीदेखि पाका मान्छेहरु पनि यसैगरी देखावटी लभमा रमाए । मोबाइलमा मेसेज तथा फेसबुकमा फेस हेरेर र देखाएर लभ सप्ताह मनाए । रोज डेदेखि किस डेसम्म भन्दै बुरुकबुरुक गरे । कसैकसैले साँच्चै मनाए, धेरैले चाहिँ फेसबुकमा लेखेर हेरेरै चित्त बुझाए । फेब्रुअरी १४ सकियो, फेसबुके लभ र बुरुकबुरुक पनि सकियो ।

फेसबुक र मोबाइल छ्यासछ्यास्ती भएपछि लभ पनि खहरे खोलाजस्तै केही दिनको खैलाबैलामै सीमित हुन थालेको छ । पहिले फेसबुक र मोबाइल नहुँदाको लभ खहरे खोलाजस्तो होइन, शान्त समुद्रजस्तो हुन्थ्यो । त्योबेला फेसबुकमा लेखेर र मोबाइलमा भनेर होइन, आफैं लभ पथ्र्यो । जुन टिकाउ र भरपर्दो हुन्थ्यो । 
पहिले गाउँमा मेलापात, जात्रामात्रा, गोठालो जाँदा लभ पथ्र्यो । छिमेकका सँगसँगै गोठालो जाँदा कहिले यसको बाख्रा हराउँथ्यो, कहिले उसको गाई हराउँथ्यो । हराएका गाईबाख्रा खोज्न हारगुहार गर्नुपर्दथ्यो । 

तल्लो घरकी च्याण्टी वनमा घाँस काट्न जाँदा रुख चढ्न सक्दिन थिई । माथ्लाघरे प्याण्टेले घाँस झारिदिन्थ्यो । घाँसदाउरा, गाईगोठालो र वनपाखा जाँदाजाँदै प्याण्टे र च्याण्टीको माया पिरिम झाँगिन्थ्यो ।

स्कुलमा राम र सीता एउटै कक्षामा पढ्थे । रामलाई सीता मन पर्ने, सीता वास्ता नगर्ने । एकदिन अर्धवार्षिक परीक्षामा लेख्दालेख्दै सीताको डटपेनमा मसी सकियो । रामले मौकामा काम लाग्छ भनेर अर्को डटपेन पनि बोकिरहन्थ्यो । सँगै परीक्षा दिइरहेकी सीताको डटपेनको मसी सकिएपछि उसले हत्तपत्त आफ्नो डटपेन दियो । त्यो दिनको जाँच सकिँदा सीतालाइ  राम मन पर्न थाल्यो । दुवैको लभ पर्यो ।

लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्याे । दुवैले दुवैलाई मन पराउनुपर्यो । तर दुवैलाई दुवैले मन पराउने दोहोरो भन्दा एकोहोरो लभ धेरै हुन्छ । आफूलाई उ मन परेको हुन्छ । तर उसले बालमतलव दिने होइन । उसलाई पट्याउन, उनलाई फकाउन मरिहत्ते गरेर लाग्यो । कहिले बाटोमा कुरेर बस्यो । कहिले पँधेरामा सँगै गयो । कहिले किताब माग्यो, कहिले नोट माग्यो । कहिले कलम दियो, कहिले कलम माग्यो । कहिले खाजा दियो, तै पनि बालमतलब दिने होइन । तर कसरी कसरी कोहीसँग लभ चाहिँ परिहाल्छ ।

लभ पर्दैन भन्दा पनि कहिलेकाहीँ लभ पर्छ । कहिले चाहिँ लभ परोस भनेर अनेक जुक्ति लगायो, तै पनि पर्दैन ।

उबेला जमाना अर्कै थियो । कक्षाभित्र केटाकेटी एउटै बेन्चमा बस्न पाईंदैनथियो । केटाका लागि छुट्टै बेञ्च । केटीका लागि छुट्टै बेञ्च । कहिलेकाहीँ छुस्स छोइहाल्यो भने पनि झस्कनुपर्ने । हात मिलाउन त के छुन समेत पाईंदैनथियो । 

स्वास्थ्य पढाउने सरले प्रजनन स्वास्थ्यको कुरा पढाउँदैनथिए । घरमा आफैं पढ्नु भन्थे । केटाले केटीलाई र केटीले केटालाई हेर्न समेत पाईंदैन थियो । गोठालो जाँदा मन परेको छिमेकीसँग यसो कुरा गरेको वल्लोघरे पल्लो घरेले देखे भने पनि पँधेरोमा कुरा काट्ने मसला बनाउँथे ।

अहिले त ठिटाठिटी मोबाइलमै लभ गर्छन् । मोबाइलबाट फोन र एसएमएस गर्छन्, च्याट गर्छन् । कसैले त अनुहार नै नदेखी एसएमएस र फोन गरेर लभ गर्छन् । मोबाइलबाट गफ गर्दासम्म निकै राम्रो । उजस्तो सन्सारमा अरु कोही छैन जस्तो लाग्ने । जब भेट्न गयो, त्यसपछि छाँगाबाट खसेजस्तो । के सोचें पहिले के भयो अहिले ! के देखें पहिले, के देखियो अहिले ! देख्दै नदेखि मोवाइल लभ गरेपछि परिंदैन त फन्दामा !

पहिले पहिलेको लभ पो लभ । मान्छे प्रत्यक्ष देखेपछि मन पर्न थाल्थ्यो । अनि फ्याट्टै कुरा गर्न नसक्दा लभ लेटर लेखिन्थ्यो । चिल्लो कागजको पानामा फूलबुट्टा भरेर, साहित्य सृजना गरेर तौली तौली अक्षर कोर्दै लभ लेटर लेख्नु र पठाउनुको मज्जा बेग्लै हुन्थ्यो ।

पहिले आई लभ यू माइ डिएर, आकाशको तारा झारिदिन्छु, आकाश र धरती जोडिदिन्छु भनेर कति भाँती र्पुयाएर लम्बेतान लेख्थे । अहिले त आई एल यू । मिस यू । डार्लिङ भनेर छोटोछोटो लेख्छन् । केटीहरुका लुगा छोटिएझैँ लभ गर्ने वाक्य र शब्द छोटिन थाल्यो ।

लभलेटर पाउनेलाई पनि उत्तिकै मज्जा । आहा क्या सुन्दर अक्षर । क्या मीठो भाषा र शैली । यस्तो अक्षर लेख्ने हात कस्तो होला ? यस्तो भाषा र शैली लेख्ने भावना कस्तो होला ? अन्त कतै नगई त्यही अक्षर हेरिरहुँ, पढिरहुँ जस्तो । सिरानमुनी, कुन्तुरमुनी, खाटमुनी लुकाइलुकाई बेलाबेला पल्टाएर हेरिरहुँ जस्तो लाग्ने लभलेटर । १० वर्ष, २० वर्ष, ४० वर्षअघिसम्ममा लभलेटर सुरक्षित गरेर राखेका हुन्छन् बुढाबुढीले समेत । त्यति धेरै महत्वको छ लभलेटर !

यति धेरै महत्व बोक्ने लभलेटरलाई मोबाइलले खाइदियो । हिजोआज लभलेटर लेख्ने चलन नै हरायो । मोबाइलमा दुई अक्षरको हाइ, तीन शब्दको आइ लभ यू र सेम टु यु, बाबा, माया भन्ने बाहेक लेख्ने काम कता पुग्यो कता । मोबाइलबाट फेद न टुप्पोको संवाद भन्दा लभलेटरमा भाँती पुर्याई पुर्याई लेखिने अक्षर, शब्द र सायरी नै लोभलाग्दा हुन्थे ।

वर्षौं वर्षसम्म मान्छेले जतन गरेर राख्थे । अर्कैसँग विवाह भएर छोराछोरी भैसक्दा पनि लभलेटर पठाउने अर्कैको सम्झनामा घरीघरी हेरेर टोलाउँथे । 
तर मोबाइल र फेसबुक आएपछि लभलेटर हरायो । लभलेटर लेख्ने जाँगर हरायो । मायाका घतलाग्दा र खँदिला शब्द हराए । 

पहिले आई लभ यू माइ डिएर, आकाशको तारा झारिदिन्छु, आकाश र धरती जोडिदिन्छु भनेर कति भाँती र्पुयाएर लम्बेतान लेख्थे । अहिले त आई एल यू । मिस यू । डार्लिङ भनेर छोटोछोटो लेख्छन् । केटीहरुका लुगा छोटिएझैँ लभ गर्ने वाक्य र शब्द छोटिन थाल्यो ।

मोबाइल र फेसबुकको चलन बढ्दा लभलेटरको अस्तित्व घट्यो । मान्छेको जाँगर घट्यो । शब्द र अक्षर घट्यो । लभको स्वाद घट्यो । पहिले मान्छे चिनजान र देखादेख भएपछि लभलेटर बन्थ्यो । अहिले त मान्छे नै चिनजान नहुँदै र नदेख्दै मोबाइलमा लभ पर्छ । अपुरो लभ, उतिखेरै भत्किन्छ । लभ मात्र होइन, कतिका त घर नै टुट्छ । अर्को भ्यालेन्टाइन डेसम्म अझ के के हुने हो ।

अन्तिम अपडेट: चैत ११, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया