सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानी धावक यत्सुके थाकानासीलाई

 फागुन ३, २०७६ शनिबार १४:३६:३१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - १४ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जापानी धावक यत्सुके थाकानासीले जित्नुभएको छ ।

उहाँले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा ४२ दशमलव १९५ किलोमिटर दूरी पूरा गर्दै उपाधि जित्नुभएको हो । 

निर्धारित दूरी २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा पूरा गर्दै सशस्त्र प्रहरी बलका किरण सिंह बोगटी दोस्रो हुनुभयो । उहाँ गत मंसिरमा आयोजित १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ ।

भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापा तेश्रो हुनुभयो । उहाँले २ घण्टा २९ मिनेटको निर्धारित दूरी पूरा गर्नुभयो । गणेशसिंह ठकुरी चौथो हुनुभएको हो । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सान्त्वना स्वरुप प्राप्त गर्नुभयो ।

यसैगरी १० किलोमिटर पुरुषतर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर हुनुभयो । महिलातर्फ इन्द्रकला राई धरान, अनिता राई सोलु र अमेरिकन धावक वेण्डीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

उहाँहरुले पुरस्कार स्वरुप क्रमशः १५, १० र ५ हजार नगद प्राप्त गरेका छन् ।

सफल पोखरा म्याराथनमा १३ देशका २१ जनासहित सय जनाभन्दा बढी सहभागी भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । अघिल्लो संस्करणमा पाँच हजारले सहभागिता जनाएका थिए ।

दौड बिहान ७ बजे पोखरा रंगशालाबाट सुरु भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया