सिटीमाथिको प्रतिबन्धका कारण प्रशिक्षक र खेलाडी अन्योलमा

 फागुन ३, २०७६ शनिबार १७:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - युरोपेली फुटबल महासंघको आर्थिक अनुशासन र अन्य नियम पालना नगरेको भन्दै इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई अर्को दुई सिजनको च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लागेसँगै खेलाडी र प्रशिक्षकको भविष्य अन्योलमा परेको छ । 

पछिल्लो समय विश्व फुटबलकै सफल प्रशिक्षक पेप ग्वार्दिओला म्यान्चेस्टर सिटीमा हुनुहुन्छ । स्पेनिस क्लब रियल बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिकमा सफल कार्यकाल सकाएर चार वर्षअघि पेप म्यान्चेस्टर सिटीमा आबद्ध हुनुभएको थियो ।  

दुई पटक च्याम्पियन्स लिग जित्नुभएको ग्वार्दिओला कुनै पनि सिजनमा उपाधिविहीन हुनुपरेको छैन । उहाँले सिटीलाई पनि दुई पटक प्रिमियर लिगको उपाधि जिताउनुभएको छ ।

सिटी प्रतिबन्धमा परेपछि महत्वाकांक्षी प्रशिक्षक ग्वार्दिओलाको भविष्यमाथि प्रश्न उब्जिएको छ । म्यान्चेस्टर सिटीमा ग्वार्दिओलाको सम्झौता अर्को वर्षसम्म कायम रहने छ । सिटीले यो सिजनको च्याम्पियन्स लिग जितेमा उहाँ यसै पनि अर्को क्लब जान सक्नुहुन्थ्यो । 

केही समयअघि ग्वार्दिओलालाई इटालियन क्लब युभेन्टसले अनुबन्ध गर्ने पहल समेत गरेको थियो ।
युईएफएको कारवाहीविरुद्ध सिटीलाई अपिल गर्ने समय छ । त्यो अपिलको निर्णयपछि सिटीसँग ग्वार्दिओलाको सम्बन्धको निरन्तरताबारे टुंगो लाग्नेछ ।

खेलाडीको भविष्य के हुन्छ ?

भेटरान मिडफिल्डर डेभिड सिल्भा यो सिजनको समाप्तिपछि सिटी छोड्दै हुनुहुन्छ । तर, विश्व फुटबलका स्टार खेलाडीको भविष्य के हुन्छ भन्ने प्रश्न सबै फुटबल प्रेमीमा छ ।

स्ट्राइकर सर्जियो अगुएरोको सम्झौता २०२१ सम्म छ । यस्तै, लेरोई सानेकोको सम्झौता पनि त्यही समयमा सकिनेछ । जोन स्टोन्स र निकोलास ओटामेन्डीको सम्झौता २०२१ को अन्तिमसम्म कायम छ ।

केभिन डि ब्रुयन, इडरसन, बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र रियाद मेहरेजको सम्झौता २०२२ को अन्तिमसम्म कायम छ । यदि ग्वार्दिओलाले क्लब छोड्नु भएमा ती खेलाडीलाई पनि अन्य विकल्प रोज्न सहज हुनेछ ।

त्यसो भएमा म्यान्चेस्टर सिटीको पुनर्गठन गर्न निकै कठिन हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया