मोटरसाइकल चोरी हुनबाट जोगाउने १० उपाय

 फागुन ४, २०७६ आइतबार १३:१०:४६ | मल्लिका थापा
unn.prixa.net

विभिन्न ठाँउबाट चोरी भएर भेटिएका मोटरसाइकल, ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ काठमाण्डाै

काठमाण्डौ – गएकाे माघ ८ गते राति ठमेल बस्ने अम्जित खानको मोटरसाइकल घरबाटै चोरी भयो । मोटरसाइकल चोरी भएको थाहा हुनेबित्तिकै उहाँले प्रहरीलाई खबर गर्नुभयो

प्रहरीले दिएकाे जानकारीअनुसार उहाँले महानगरीय ट्राफिक प्रहरी महाशाखामा मोटरसाइकल चोरी भएको उजुरी दिनुभयो । हराएको १७ दिनमा उहाँले ट्राफिक प्रहरीमार्फत आफ्नो मोटरसाइकल सही सलामत भेट्टाउनुभयो ।

गएको पुस २८ गते राताे पुलकी ज्याेति अग्रवालकाे आफ्नो घर अगाडि नै रोकेर राखेकाे स्कुटर हरायाे । बेलुका झण्डै ८ बजे खाना खान माथिल्लो तल्ला गएर फर्कनसम्म झण्डै १५ मिनेटको अन्तरालमा स्कुटर गायब ।

उहाँले तत्कालै प्रहरीमा जानकारी गराउनुभयो र भोलिपल्ट महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिनुभयो । अग्रवालले पनि ट्राफिक प्रहरीको सहयोगमा हराएको २६ दिनपछि स्कुटर भेट्टाउनुभयो ।

ललितपुको महालक्ष्मी नगरपालिकाको इमाडोलका समित खड्काको माटरसाइकल पनि घरबाटै हराएको थियो । राति गेटभित्रै पार्किङ गरेको मोटरसाइकल हराउला भनेर उहाँले सोच्नु पनि भएको थिएन । भोलिपल्ट बिहान उहाँले प्रहरीकाेमा उजुरी गर्नुभयो । तर ६ वर्ष बितिसक्यो उहाँकाे मोटरसाइकल भेटिएको छैन ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हराएकामध्ये थोरै मोटरसाइकल मात्रै भेटिने गरेको छ । विसं २०७६ साउनदेखि माघ महिनासम्म एक हजार १८ मोटरसाइकल र स्कुटर हराएको उजुरी आएको थियो । जसमध्ये दुई सय ६१ वटामात्र भेट्टिएकाे छ । चोरीमा संलग्न ३० जनामाथि अनुसन्धान अघि बढाइएको छ ।

‘मोटरसाइकल चोरी भएको उजुरी गरे हामी खाेज्छौँ तर पाउने सम्भावना थोरै छ’, ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भन्नुभयो । उहाँका अनुसार महाशाखाले चोरी भएका मोटरसाइक तथा स्कुटी खोज्न विशेष टोली नै गठन गरेको छ तर पनि चोरी भएका मोटरसाइकल भेटिने सम्भावना कम हुन्छ ।

चोरी भएका मोटरसाइकलकाे नम्बर प्लेट परिवर्तन गरि गलत नम्बर राखेर चलाइरहेको अवस्थामा भेटिने गरिएकाे छ र मोटरसाइकलको हुलिया पनि परिवर्तन गरिएकाे हुन्छ । 

मोटरसाइकल सुरक्षाका लागि ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालकाे सुझाव  

  • मोटरसाइकल चोरीबाट जोगाउन सर्वप्रथम सवारी धनी नै सचेत हुनुपर्छ ।
  • गार्ड बस्ने ठाउँमा, सीसी क्यामरा भएको ठाउँमा पार्किङ गर्नुपर्छ । एकैछिनकाे लागि त हाे नि! भनेर एकान्त ठाँउमा मोटरसाइकल पार्किङ नगर्ने ।
  • एकै ठाउँमा लामो समयसम्म पार्किङ गर्नुहुँदैन। 
  • पार्किङ गरेको ठाँउबारे नजिकको प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी गराउने ।
  • पार्किङ गर्दा ह्याण्डिल लक गर्न नबिर्सिने ।
  • सवारीसाधन पार्किङ गरिसकेपछि सवारी साधनमै चाबी छुटेकाे र नछुटेको बारे ध्यान दिनुपर्छ।
  • घरमै राख्दा पनि मोटरसाइकलकाे ह्याण्डिल लक गर्नुपर्छ ।
  • ह्यान्डिल लकको भरमा मात्र मोटरसाइकल सुरक्षित हुँदैन, अत्याधुनिक प्रविधि (डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन) प्रयोग गर्नुपर्छ। 
  • मोटरसाइकलको इञ्जिन, च्यासिस नम्बर लगायत आवश्यक कागजपत्र सुरक्षित राख्ने ।
  • टेस्ट ड्राइभको बाहनामा चोरी हुन सक्ने भएकाले सकेसम्म सावधानी अपनाउनुपर्छ। विश्वासिलो व्यक्तिलाई मात्रै टेस्ट ड्राइभ गर्न दिनुपर्छ ।

मोटरसाइकल हराइ हालेमा के गर्ने ?

  • कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तपाईँले तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधनसम्बन्धी विस्तृत जानकारी टिपाउनुपर्छ वा महाशाखाको एक्सचेन्ज नम्बरहरु ०१४२१९६४१ मा सम्पर्क गरी सवारी सुरक्षा शाखा, भीएसयू शाखाको एक्सटेन्शन नम्बर २११ मा सम्पर्क गरेर छिटोभन्दा छिटो सूचना दिनुपर्छ ।
  • फोनमार्फत जानकारी टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ काठमाण्डौमा गएर निवेदन दर्ता गराउनुपर्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया