प्रदेश २ का मुख्यमन्त्रीको भनाइ : सङ्घीयता बचाउन अहोरात्र खटिरहेका छाैँ

 फागुन ५, २०७६ सोमबार २१:५:४५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकार सङ्घीयता बचाउन अहोरात्र खटिरहेको बताउनुभएको छ ।

प्रदेश सरकारले दुई वर्ष पूरा गरेको अवसरमा गएकाे शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले सङ्घीयता सफल वा असफल हुने कुरा प्रदेश २ सरकारको सफलता वा असफलतामा निर्भर गर्ने बताउनुभयो । सङ्घीय सरकारको असहयोग र कर्मचारी अभावका बाबजुद सङ्घीयता बचाउन अहोरात्र खटिरहेको बताउनुभयो।

‘अधिकार बाँडफाँड, कर्मचारी र भौतिक संरचना लगायतका विषयमा सङ्घीय सरकारले प्रदेश २ सरकारलाई असहयोग गर्दै आएको छ । तै पनि हामीहरु अहोरात्र खटेर सङ्घीयता बचाउन जुटेका छौं,’ मुख्यमन्त्री राउतले भन्नुभयो । 

मुख्यमन्त्री राउतले दुई वर्षको अवधिमा ‘बेटी पढाऊ, बेटी बचाऊ’, लोक सेवा आयोग गठन, निजामति विधेयक तयार, २३ वटा कानुन निर्माण, स्वच्छता अभियान, शहीद परिवारको अर्थोपार्जनका लागि कृषि सामाग्री वितरण, अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत र मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार लगायतका उपलब्धि आफ्नो सरकारले हासिल गरेको जानकारी दिनुभयो ।

दुई वर्षको अवधिमा मन्त्रिपरिषद्को ७८ र समन्वय परिषद्को ३ पटक बैठक बसेको छ । प्रदेश सरकारले जारी गरेको उपलब्धि पत्रमा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी बीमा, छोरी छात्रवृत्ति र साइकल वितरणलगायतका कार्यक्रम जारी राखेको उल्लेख छ, जसअन्तर्गत अहिलेसम्म २४ हजार ३ सय ७८ जना छोरीहरुकाे बीमा गरिएको छ भने १४ हजार छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यसैगरी एक सय वटा विद्यालयमा महिलामैत्री शौचालय निर्माण, एक सय छात्रालाई निःशुल्क लोक सेवा परीक्षाको तयारी, २८ जनालाई छात्रवृत्ति प्रदान र मधेश आन्दोलन, बाढी प्रभावित तथा बम विस्फोटलगायतका घटनामा घाइतेहरुलाई उपचार र नगद गरी ५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको समेत मुख्यमन्त्री राउतले बताउनुभयो ।

यसका साथै प्रदेशलाई हरित बनाउने उद्देश्यले सरकारले ३७७.४ हेक्टरमा वृक्षारोपण तथा निजी तथा सरकारीस्तरमा वृक्षारोपणका लागि एक करोड ४० लाखभन्दा बढी बोटबिरुवा वितरण गरेकाे छ । साथै भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेशका ८ वटै जिल्लाका १ सय ९२ वटा पर्यटकीय संरचनाको निर्माण तथा मर्मत सम्भार गराउन सफल भएको मुख्यमन्त्रीको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया