हावाले रुख ढाल्दा बालकको ज्यान गयो

 जेठ १०, २०७५ बिहिबार २०:४४:२५ | अमर सुनार
unn.prixa.net

दैलेख, जेठ १० – हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा बिहीबार साँझ एक बालकको ज्यान गएको छ ।

घटना ठाँटीकाँध गाउँपालिका–६, लाममेला टोलका जोगी दमाइको साईंलो छोरा ८ वर्षीय बालक रमेश नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले घर नजिकैको सल्लोको रुख ढलेर जोगी दमाईको १ तले मुण्डाघर भत्काउँदा ती बालकको घटनास्थलमै ज्यान गएको ठाँटीकाँध प्रहरी चौकीका हवल्दार आकाशसिंह ठकुरीले उज्यालोलाई बताउनुभयो ।

४ छोरा उनीहरुकी आमा अम्रा नेपाली घरभित्रै भएको बेला रुख ढलेर घर भत्किएलगतै आमाले सबै बच्चाहरुलाई बाहिर निकाले पनि बाहिर निकालिसकेपछि रमेशको प्राण गएको बताइएको छ ।

भत्किएको घरबाट निस्कन सके पनि आमा अम्रा नेपालीको दुवै खुट्टाको तिघ्रा र ढाडमा कडा चोट लागेकोले हल्चल गर्न सक्नुभएको छैन । त्यसै गरी जेठो छोरा १५ वर्षीय कमल नेपालीलाई टाउकोमा चोट लागेकोले ठाँटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भीक उपचार गरिएको वडाध्यक्ष मनबहादुर सिंजापतिले जानकारी दिनुभयो । 

घटनालगतै स्थानीयहरु जुटेर ठाँटीकाँध गाउँपालिका–६, का वडा सदस्य रत्न तिरुवाको घरमा राखी घाइतेहरुको उपचार र स्याहार सुसारको काम थालिएको छ । प्रकोप पीडित परिवारको राहत सहयोगमा जुट्न सरकारी निकायहरुलाई अह्राइसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानले बताउनुभयो । 

मृतक रमेश नेपाली सूर्योदय आधारभूत विद्यालय लाममेलाको कक्षा २ मा पढ्दै थिए । रमेशका बुबा जोगी दमाई अघिल्लो वर्ष भूकम्प प्रभावित क्षेत्र काभे्रमा मजदूरी गर्न गएका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया