'क्वारेन्टाइन'मा ब्याडमिन्टन काेर्टदेखि क्यारम बाेर्डसम्म

 फागुन ४, २०७६ आइतबार ९:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट ल्याइएका एक सय ७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याएकाे छ ।

त्रिभुवन विमानस्थलबाट भक्तपुरको सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै बिहान ६ बजेर १० मिनेटमा उनीहरुलाई भक्तपुर खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा निर्माण गरिएको क्वारेन्टाइनमा पुर्‍याएकाे हो । 

पाँच वटा बसमा राखिएका उनीहरुलाई एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ्ग गर्दै खरिपाटी पुर्‍याएकाे थियो ।

त्यस्तै चीन गएका विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सवार एउटा बसलाई भने प्रहरीले स्कटिङ्ग गर्दै बिहान ७ बजे चाँगुनारायण नगरपालिका ६ नगरकोटको खानेपानी तालिम केन्द्रका बनाइएको क्वारेन्टाइनमा पुर्‍याएकाे हो । 

चीनबाट फर्किएका एक सय ७५ जनालाई खरिपाटीमा र उनीहरुलाई लिन जहाजमा गएका १७ जनाको टोलीलाई भने खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका क्याप्टेन डाक्टर नविन फुयाँलको नेतृत्वमा नर्ससहितको स्वास्थ्य टोली पुगेको छ । यो टोलीले क्वारेन्टाइनमा पुर्‍याइएकाहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आइतबार नै एक सय ७५ जनाको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वाासुदेव पाण्डेले जानकारी दिनुभयो ।  

वुहानमा रहेका नेपाली लिन नेपाल एअरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स गरी चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात कु्र मेकर, एक इञ्जिनयिर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनाको टोली शनिबार चीन गएको थियो । 

चीनबाट एक सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित एक सय ७५ जनालाई लिएर विमान आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । 

नेपाल आउन तयारी अवस्थामा चीनको वुहान एअरपोर्टमा आएका मध्ये ६ जनाको शरीरमा बढी तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र अन्य चार जनाले चीनमै बस्ने बताएका थिए । 

चीनको वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९, इन्सीबाट २६, जिङमेनबाट नौ र यिचाङबाट आठ जना गरी एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जनालाई नेपाल ल्याइएको हो । 

चीनबाट विमान चढ्नुअघि स्वास्थ्य परीक्षण गरिएका उनीहरुको काठमाण्डौको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि फेरि स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई क्वारेन्टाइन पुर्‍याइएको हो ।  

कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुँदैन भन्दै यसअघि आन्दोलन भए पनि आइतबार भने कसैले पनि अवरोध गरेनन् । 

सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको हो । क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै ‘आइसोलेशन’ वार्डमा हुने जतिकै सुविधासहितका व्यवस्था गरिएको छ । 

क्वारेन्टाइनमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वटा ब्ल्क विभाजन गरिएको छ । जसमध्ये दुई वटा ठूला भवनमा पुरुष र परिवारसहित आउने टोली, रातो भवनमा महिला तथा अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । 

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसीटीभी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीन वटा वाशिङ्ग मेशिन, तौलिया, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स (मुखावरण), औषधि लगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्‍याइएको छ । 

एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन वटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । 

मनोरञ्जनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ भने क्यारम बोर्ड, लुडो, बच्चाका लागि बल लगायतको खेल खेल्न मिल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइन भित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । 

क्वारेन्टाइनमा बसेको १४औँ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरु दिन व्यक्ति स्वयंले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ । 

कुनै कुराको आवश्यकता परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । 

जाँचका क्रममा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,  पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा एक सय ४७ वटा आइसोलेशन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान ब्रेके फास्ट, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । 

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट चौबिसै घण्टा अनुगमन गरिनेछ । 

स्थानीयमा त्रास नहोस् भनेर नेपाली सेना वीर दल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं  टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । 

स्थानीयका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटीको घुमाउनेमा रहेको सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया