३ गाेही मृत र ७ गाेही जालमा बेरिएकाे अवस्थामा भेटिए

 फागुन ४, २०७६ आइतबार १०:४०:४२ | रासस
unn.prixa.net

चितवन – राप्ती र नारायणी नदीमा गएकाे वर्ष छाडिएका तीन वटा गोही मरेको अवस्थामा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुई वटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ । अधिकृत खड्काले भन्नुभयो, 'मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।' 

यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र स्याटलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही स्याटलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।  

राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आइतबारबाट नै थालिने निकुञ्जले जनाएको छ । मुखमा जाल बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् । 

ती दुई नदीमा भाले गोही नभएपछि बबईबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबईबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उहाँले जानकारी दिनुभयो । यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ । 

निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर १२ वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो ।

अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए । निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो ।   

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा अहिलेसम्म एक हजार चार सय ५५ वटा गोही छाडिसकिएको छ । तीमध्ये राप्तीमा मात्र सात सय ८५ गोही छाडिएको छ ।   

निकुञ्जका अनुसार नारायणी नदीमा तीन सय ९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा एक सय १० वटा गोही छोडिसकिएको छ ।

पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । यस वर्ष यसै महिनाबाट प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय १ गोही रहेका छन् । 

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया