प्रदेश २ को नाम ‘मधेश प्रदेश’ मा सहमति जुट्ने संकेत

 फागुन ४, २०७६ आइतबार १७:१५:३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को नामाकरणको विषयमा प्रतिपक्षी दलहरु लचक भएपछि मधेश प्रदेश नाममा सहमति जुट्ने संकेत देखिएकाे छ ।

गएकाे भदौ महिनामा नाम र राजधानीको विषयमा गरिएको प्रस्तावहरुमाथि सहमतिको क्रममा रहेका सत्ता साझेदार दलहरुले अघि सारेको मधेश प्रदेशको नाममा प्रतिपक्षी दलहरु सहमति जनाएपछि त्यसमा केही थप्नु पर्ने भनी अडान लिएका छन् ।

प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा र कांग्रेसकै केही सभासदहरुले मध्यमधेश भन्ने नाम दर्ता गराएका थिए ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख यादवको संयोजकत्वमा रहेको समितिले अन्तिम पटकको लागि यो बैठक आह्वान गरेको थियो । बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहे पनि सहमतिको लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली कांग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतबार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुंग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिनुभएको छ । 

त्यसैगरी राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेससमेतले मधेशलाई स्वीकार गरिसकेकोले अगामी बैठकबाट टुंगो लाग्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु मधेश नाममा सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउनु भयो ।

त्यस्तै अर्का प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले पनि मधेश नाममा कुनै विमति नरहेकाे तर मिथिलाको आफ्नो छुट्टै पहिचान रहेकोले सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको बताउनुभयो ।

पछिल्लो साता समितिको बैठकमा राजधानी जनकपुरधाम राख्ने दलहरुमा सहमति जनाइसकेको छ । समितिको आगामी बैठक सोमबार बस्ने जनाइएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया