यूएईमा ताप्लेजुङका यमनाथलाई एक किलो सुन उपहार, दुई जनालाई २४ लाख रुपैयाँ

 फागुन ५, २०७६ सोमबार १८:१७:१२ | उमाकान्त पाण्डे

यूएई –  यूएईबाट नेपाल पैसा पठाउँदा एक नेपालीले दुबईमा १ किलो सुन उपहार पाएका छन् । यूएईको अलअहलिया एक्सचेञ्जमार्फत परिवारलाई पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा ४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार पाउनुभएको हो । उहाँ १९ वर्षदेखि यूएईको एमबीएम कम्पनीमा सरसफाइको काम गर्दै आउनुभएको छ ।

सोमबार दुबईको अलकुजमा खोलिएको मेघा लक्की ड्र अन्तर्गत यमनाथले एक किलो सुन उपहार पाउनु भएको हो । 

अलअहलिया एक्सचेञ्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि सन २०१९ को डिसेम्बर १५ आइतबारदेखि फेब्रुअरी १२ तारिखसम्म यूएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको हो ।

भट्टराईले गएको महिना परिवारका नाममा घर खर्चका लागि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट पैसा पठाउनु भएको एक्स्चेञ्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताउनुभयो ।      

उपहार पाएको सुन नेपाल लैजान समस्या

उपहार पाएको एक किलो सुन नेपाल लैजान भने समस्या हुन्छ । त्यसो त एक्सचेञ्जले सुनको सट्टा नगद पनि दिन्छ । लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । त्यसरी पाउने रकम १ लाख ८६ हजार ५ सय ९९ दिर्हाम अर्थात झन्डै ५७ लाख रुपैयाँ यमनाथले पाउनु हुनेछ ।

एक किलो सुन उपहार पाएको खबर पाएलगत्तै उज्यालोसँग कुरा गर्दै यमनाथले भन्नुभयो मेरा धेरै साथीहरु यहाँ आएर अरु देश गए, मैले भने १९ वर्षदेखि एउटै बिस्तारामा सुतेर काम गरेको थिएँ, आजको खुशी ब्यक्त गर्न सक्दिन ।

बैधानिक बाटोबाट पैसा पठाउनुहोस् : एक्सचेञ्ज

आफूले दुःख गरेर कमाएको पैसा वैधानिक बाटोबाट नेपाल पठाउँदा फाइदा हुने एक्सचेञ्जले जनाएको छ । अहलिया एक्सचेञ्जले वर्षको ७ महिना यस्तै योजना ल्याइरहेको हुन्छु नेपाल प्रमुख बेनीमाधव ढकालले भन्नुभयो । ४ महिना अहलिया एक्सचेञ्ज र ३ महिना आईएमईमार्फत विभिन्न उपहार योजना ल्याउने गरेको एक्सचेञ्जले जनाएको छ ।

यसअघि पनि धेरै पटक राखेको अफरमा नेपालीले उपहार पाएका छन । सन २०१३ मा यही कम्पनीले चलाएको स्किममा अर्का नेपाली रामबहादुर कटुवालले एक लाख दिर्हाम उपहार पाउनु भएको थियो । अघिल्लो वर्ष पनि एक किलो सुन ईलामका नरेन्द्र मगरले पाउनु भएको थियो ।

दुई वटा कार पनि नेपालीलाई

एक्सचेञ्जले चलाएको विन्टर प्रमोसन अन्तर्गत दुई जना नेपालीले कार उपहार अर्थात २४ लाख नेपाली रुपैयाँ पाएका छन् । निसानको कारको सट्टा कारको बजार मूल्य बराबर उपहार नेपालीले पाउने कम्पनीले जनाएको छ । त्सरी कार उपहार पाउनुहरुमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सीता पाण्डे हुनुहुन्छ ।  

उहाँहरुले पाएको उपहार अलअहलिया कर्पोरेटले कार्यक्रम आयोजना गरेर संयुक्त रुपमा वितरण गर्ने एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया