१५ वर्षदेखि बेपत्ता भएको छोरो नफर्किएपछि कुशको शव बनाएर ८५ वर्षीय बुवा किरियामा

 साउन ८, २०७५ बुधबार ५:३८:४७ | सुमित्रा कोइराला

उदयपुर - १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएको छोरो घर नफर्किएपछि उदयपुरको त्रियुगा नगरपालिका १० का एक ८५ वर्षीय बृद्ध आफैं किरियामा बसेका छन् ।

राज्य पक्षबाट २०६० साल पुस १४ गते काठमाडौंमा बेपत्ता पारिएका लिलाराज आचार्यको किरिया गर्न बृद्ध बुवा ब्रजलाल आचार्य बाध्य हुनुभएको हो  ।  

छोरो जीवितै घर फर्कने आशमा विगत १५ वर्षदेखि कुर्दै आएकामा राज्यले समेत छोराको अवस्था सार्वजनिक नगरेपछि हिन्दु संस्कार अनुसार किरिया सुरु गर्नु परेको आचार्य परिवारले जनाएको छ ।

हिन्दु धर्मअनुसार कुशको शव वनाएर दागबत्ति दिई किरिया थालिएको पण्डित रमेश ढकालले बताउनुभयो ।  

बेपत्ता छानबिन आयोगबाटै मौखिक रुपमा काजकिरिया गर्दा हुन्छ भनेकाले किरिया गरिएको परिवारले जनाएको छ ।

सरकारले द्वन्द्वको  क्रममा बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन छानबिन आयोग गठन गरे पनि आयोगले हालसम्म स्थिति सार्वजनिक गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार उदयपुरका ६ जना नागरिक बेपत्ता भएका छन । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया