स्थलमार्ग हुँदै भारत गएर मध्यपूर्वका ९ देशमा उड्न नपाइने

 फागुन ६, २०७६ मंगलबार १४:५०:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, यूएई लगायत मध्यपूर्वका ९ देशमा उड्न नपाउने भएका छन् ।

खुला सिमानाको प्रयोग गरी मानव तस्करी समेत हुने गरेकाले स्थलमार्ग भएर भारत हुँदै त्यहाँबाट मध्यपूर्वका ९ देशमा उड्न नपाइने भारतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लिएका नेपालीक‍ो दूतावासबाट नो अब्जेक्सन लेटर भएमा भने भारतबाट उड्न पाइनेछ । साथै मध्यपूर्वका ९ देशबाहेक अरु देशमा जानका लागि पासपोर्टमा भारत प्रवेश गरेको छाप भारतीय अध्यागमनले लगाएको हुनुपर्छ ।

खुला सिमानाक‍ो दुरुपयोग गर्दै मानव तस्करी हुने भन्दै दूतावासले अध्यागमन विभागलाई पनि स्थलमार्गबाट भारत जाने नेपाली नागरिकलाई त्यहाँबाट जहाज चढ्दा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।

नेपालले प्रस्थान छाप नलगाएको पासपोर्टमा भारतले पनि आगमन छाप नलगाउने हुँदा उनीहरुलाई भारतीय विमानस्थल प्रयोग गरी उड्न अनुमति दिइने छैन ।

साथै स्थलमार्गबाट भारत प्रवेश गरी तेस्रो देश जान खोज्दा हुन सक्ने समस्याबाट बच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले सबै नेपालीलाई आग्रह पनि गरेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया