कर्मचारी आभावले काम गर्न सकिएन, बजेट खर्च भएन : मुख्यमन्त्री राउत

 फागुन ७, २०७६ बुधबार १४:४३:५३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी आभावले गर्दा पाएको बजेट पनि खर्च गर्न नसकेको गुनासो गर्नुभएको छ ।

बुधवार राष्ट्रिय समाचार समितिको ५९ औंँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले जनताकाे अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै यसमा प्रमुख दोषी संघीय सरकार रहेकाे आराेप लगाउनुभयाे ।

उहाँले प्रदेश सरकारमा सचिवदेखि खरिदार तसम्मको कर्मचारी आभाव रहेको जानकारी दिँदै कर्मचारीलाई पठाइमाग्न प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रालयमा धाउँदा पनि आवश्यक कर्मचारीहरु नपठाइएको गुनासाे गर्नुभयाे ।

अहिले मुख्यमन्त्री कार्यालयमा मात्र दुई जना सचिव छन् भने अन्य मन्त्रालयमा समेत कर्मचारीकाे अभाव रहेको छ । भएका सचिवहरु पनि काठमाण्डौ वा बिदामा नै बस्ने गरेकोले प्रदेश सरकारले पाएको बजेट पनि समयमा खर्च गर्न नसकेको अवस्था आएकाे उहाँले औँल्याउनु भयो ।

मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशमा अवकाश प्राप्त हुने, अख्तियारमा तानिएका दाग लागेका र कामभन्दा बढी विवाद गर्ने तीन खालका सचिव संघीय सरकारले पठाउने गरेको कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकार चलाउने मुख्यमन्त्री वा मन्त्री होइन कर्मचारीतन्त्र नै हो, योजना तयार पार्ने, टिप्पणीदेखि चेक काट्नेसम्मका काम कर्मचारीले गर्ने हो, हामी त मात्र नीति निर्माण तथा व्यवस्थापन गर्ने व्यक्ति हौँ, तर सारा दोष हामीमाथि नै थुपारिने गरेको छ ।‘

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया