च्याउ बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

 साउन ९, २०७५ बुधबार ७:२४:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – देउखुरीको वन क्षेत्रमा प्राकृतिक रुपमा धेरै च्याउ पाइन्छ । त्यहाँ वर्षे विदामा च्याउ टिप्न जाने बालबालिकाको लर्को लाग्ने गर्छ । बालबालिकाले खोजेको च्याउ पूर्व–पश्चिम राजमार्ग भएर  ओहोर दोहोर गर्नेले राम्रै मूल्यमा किन्ने गर्छन् ।

यसरी च्याउ टिपेरै पैसा कमाउन सकिने भएपछि अहिले यहाँको स्कूले बालबालिकाको दैनिकी नै च्याउ टिपेर बेच्ने बनेको छ । 
लमही नगरपालिकाको वडा नम्बर ७, ८, र ९ का पश्चिम क्षेत्रका विद्यलयमा अध्ययन गर्ने बालबालिकाले जंगलमा उम्रिएको च्याउ विक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । सतबरिया, रिहार, कालीखोला, भ्याउखोला र अमेलियाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका च्याउ खोज्न जाने गरेको स्थानीयहरु बताउँछन् ।

लमही नगरपालिका वडा नम्बर ९ की सात कक्षामा पढ्ने १३ वर्षीया सुनिता कुमालले भनिन् ‘च्याउ बेचेर कमाएको पैसाले हामीले कापी कलम किन्छौँ । अहिले स्कुल विदा छ, यो विदा भरी भेटेको च्याउ बेच्ने र स्कूलमा लाग्ने खर्च जुटाउने हो ।’ सुनिताका अनुसार दैनिक च्याउ बेचेर हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।

लमही नगरपालिकाकै १६ वर्षीया शशिकला कुमाल स्थानीय बेला जनज्योति माध्यमिक विद्यालयमा अध्यन गर्छिन् । उनी पनि वर्षे विदाको बेलमा च्याउ खोज्न जाने गरेकी छिन् । उनी भन्छिन् ‘वनमा उम्रेको च्याउ खान मिल्ने नमिल्ने चिनेकी छु । धेरै च्याउ भेट्न सकियो भने त हामीलाई वर्षभरी पढाई खर्च पुगेर घरखर्चसमेत अलिअलि हुन्छ ।’

यसरी जंगलमा उम्रेको च्याउ बेचेर राम्रो आम्दानी हुन थालेपछि स्कूले बालबालिका सँगै स्थानीयहरु पनि वनमा च्याउ खोज्नतर्फ आकर्षित हुन थालेका छन् । लमहीदेखि पश्चिम अमेलियासम्मका प्रत्येक प्रतिक्षालयमा आजभोली च्याउकै व्यापार चलिरहेको पाइन्छ । च्याउ नेपालगञ्ज सल्यान, तुलसिपुर र घोराही क्षेत्रका मानिसहरुले खरिद गर्ने गरेका छन् ।

घोराही उपमाहानगरपालिका वडा नम्बर १८ की रझेना निवासी निर्मला रेग्मीले देउखुरीमा बालबालिकाले संकलन गरेको च्याउ किनेर घोराही लगेर बेच्न थालेको १० वर्ष भएको बताउनुभयो ।

स्थानीय प्रहरी प्रशासनले भने च्याउ खाँदा होसियार भएर खान र सकेसम्म जंगली च्याउ नखान अनुरोध गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया