सञ्चार मन्त्री बाँस्काेटालाई पदमुक्त गरी छानबिन गर्न माग

 फागुन ८, २०७६ बिहिबार १२:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली काङ्ग्रेस लगायतका दलले सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा भएको कमिसनको मोलमोलाइबारे तत्काल छानबिन थाल्न माग गरेका छन् ।

सेक्युरिटी प्रेस खरिदका लागि स्वीजरल्याण्डको एक कम्पनीका प्रतिनिधि विजयप्रकाश मिश्रसँग कमिसनको मोलमोलाइ गरेको सम्बन्धी अडियो रेकर्डसहितका खबर सार्वजनिक भएपछि काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर यस बारेमा तत्काल छानबिन अघि बढाउन र मन्त्री बाँस्कोटलाई बर्खास्त गर्न माग गर्नुभएको हो ।

यस्तै पूर्व प्रधानमन्त्री तथा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि घटनाबारे छानबिन गर्न माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर अरुको आङको जुम्रा हेर्नुभन्दा आफ्नै आङको भैसी हेर्ने हो कि प्रमज्यू ? भन्दै कारबाही गर्न माग गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष कमल थापाले पनि मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर छानबिन गर्न माग गर्नुभएको छ ।

स्वीजरल्याण्डको कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र र मन्त्री बाँस्कोटाबीच सेक्युरिटी प्रेस खरिदका लागि कमिसन बाँडफाँडका बारेमा कुराकानी भएको अडियो रेकर्डसहितको खबर सावर्जनिक भएको हो । अडियोमा २५ अर्ब रुपैयाँमा सेक्युरिटी प्रेस खरिदको सम्झौता गरे ७४ करोड रुपैयाँसम्म कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्री बाँस्कोटा लगायतलाई र ३० प्रतिशत आफूले राख्ने प्रस्ताव गरेका छन् ।

मिश्रले कमिसनको रकम एकदमै पारदर्शी हुने दाबी गर्दै आउट अफ ट्रयाक जाने कि उनीहरुले भनेअनुसार गर्ने भनेर मन्त्रीलाई सोधेका छन् । मन्त्री बाँस्कोटाले अघिल्लो कम्पनीले सेक्युरिटी प्रेस खरिदका लागि ३५ अर्ब लाग्ने विवरण पेस गरेकोमा स्वीस कम्पनीले २७ अर्ब लाग्ने बताए त्यसलाई बताएर २८ अर्ब बनाउन सकिने पनि बताएका छन् ।

अडियोमा मिश्रले कर्मचारीलाई चाहिँ कमिसनका लागि के गर्ने भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले आपत्तिजनक शब्दसहित कर्मचारीसँग आफूले यस्तो कुरा गर्दा आफूलाई हेप्ने बताएपछि मिश्रले त्यो कुरा आफै बताउने उल्लेख गरिएको छ । यस बारेमा प्रतिक्रियाका लागि फोन गर्दा मन्त्री बाँस्कोटाको फोन उठेन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया