सुनको भाउकाे नयाँ रेकर्ड : तोलाको ७८ हजार १ सय

९ दिनमै तोलामा २१ सय रुपैयाँ बढ्यो

 फागुन ९, २०७६ शुक्रबार १०:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ थप महङ्गो भएको छ ।

फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । 

यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ ।

अहिले दैनिक १०-१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया