वैदेशिक रोजगारी : एक पैसा नलाग्ने सरकारी नियम, लाखौं उठाउने म्यानपावर

 फागुन ९, २०७६ शुक्रबार १२:८:२८ | बेदानन्द जाेशी

काठमाण्डौ –तपाईंलाई म्यानपावर वा एजेण्टले खाडीका विभिन्न देश र मलेसियामा राम्रो काम छ, राम्रो काममा जान पैसा पनि राम्रो लाग्छ भनेर फकाइरहेका छन्  भने उनीहरुको चिल्ला कुरामा विश्वास नगर्नुहोस् । किनकी राम्रो काममा जान पैसा पनि धेरै लाग्छ भनेर तपाई‌ंबाट बढी पैसा असुल्ने खोजेको हुनसक्छ । 

घटना १

सुनसरीका २६ वर्षीय नविन उराव यूएईमा सुरक्षा गार्ड कामका लागि पत्रिकामा छापिएको विज्ञापनलाई पच्छ्याउँदै काठमाण्डौको वसुन्धारामा रहेको सब–इन्टरनेशनल म्यानपावर कम्पनीमा पुग्नुभयो ।

म्यानपावरले नविनलाई नेपाली एक लाख रुपैयाँ तलब हुने र त्यसका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने भन्यो । नेपाली एकलाख रुपैयाँ कमाइ हुन्छ हुने भएपछि जाँदाको खर्च पाँच महिनामै चुक्ता गरिहाल्छु नि भनेर नविनले गएको साउन अन्तिम साता म्यानपावरलाई भनेजति रकम बुझाउनुभयो ।

भदौ चार गते सामान्य अन्तर्वार्ता भयो । उहाँ पास पनि हुनुभयो । अन्तर्वार्ता भएको दुई दिनमै नविनलगायत पाँच जनालाई कम्पनीले सुरक्षा गार्डको लागि यूएई पठायो । त्यसका लागि सबैले जनही पाँच लाख रुपैयाँ म्यानपावरलाई बुझाएका थिए ।

तर यूएई पुगेपछि कम्पनीले फेरि सबै जनाको परीक्षा लियो । तर नेपालमा पास भएकाहरु त्यहाँ फेल भए । त्यसपछि सबैलाई अयोग्य भनेर नेपाल फर्काइयो । त्यति धेरै रकम बुझाएर यूएई पुगेका पाँचै जना अहिले निराश छन् । 

घटना २

नेपाल प्रहरीमा १६ वर्ष सेवा गरेर हवल्दारबाट अवकास हुनुभएका नवलपरासीका दिपक आचार्य (परिवर्तित नाम) ले पनि सुरक्षा गार्डको जागिर खान यूएई जानको लागि अढाई लाख रुपैयाँ तिर्न तयार हुनुभयो । उहाँले एजेण्टलाई बाँकी पैसा भिसा आएपछि दिने भन्दै सुरुमा ६० हजार रुपैयाँ बुझाउनुभयो । दाङका रम्तुल्ला मियाँ भन्ने एजेण्टले सिनामंगलमा रहेको जीएस टेक्निकल सेन्टरबाट उहाँलाई विदेश पठाउने भने । 

जीएस टेक्निकल सेन्टर वैदेशिक रोजगारीमा जानेहरुलाई सीप सिकाउने संस्था हो । तर पनि त्यहीँबाट पठाउन मिल्छ भन्दै एजेण्टले दिपकलाई ढुक्क बनाएर पैसा उठाए । एजेण्टले ४ दिनको सेक्युरिटीको तालिम पनि दिन लगाए । गएको असार ३१ गते उहाँले एजेण्टलाई रकम बुझाउनुभयो । साउन ५ गते फ्लाइट छ भनेको थियो तर ४ गतेदेखि नै एजेण्टको मोबाइल स्वीच अफ भयो ।

घटना ३

सिन्धुलीका सन्तोष कार्कीले पनि सुरक्षा गार्डमा जानका लागि २०७५ बैशाख ३ मा सेभेन हिल्स म्यानपावरलाई तीन लाख रुपैयाँ बुझाउनुभयो । उहाँले अल अबयाद सेक्युरिटी सर्भिसेज् कम्पनीमा सुरक्षा गार्डको काम गर्ने र मासिक २५ सय दिर्हाम तलब पाउने गरी करार सम्झौता भएको थियो । कम्पनीले नै खाने बस्ने सुविधा दिने करारमा उल्लेख थियो । तर उहाँले तीन महिनासम्म काम गर्दा जम्मा १ हजार ८ सय दिर्हाम पाउनुभयो ।

त्यसपछि पनि झण्डै एक वर्ष काम र तलब दुवै पाउनुभएन । करार सम्झौतामा उहाँले त्यतिबेला मासिक ७५ हजार रुपैयाँ पाउने उल्लेख थियो । त्यसपछि उहाँ २०७५ फागुन २८ मा रित्तो हात नेपाल फर्किनुभयो । नेपाल फर्किएर उहाँले वैशाख २२ गते म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनुभयो । उजुरीपछि विभागले त्यो म्यानपावर बन्द गराएको छ । 

नविन, दीपक र सन्तोषजस्तै यूएईमा सुरक्षा गार्डमा जानको लागि सुर्खेतका रमेश भण्डारी (परिवर्तित नाम) ले पनि म्यानपावरलाई लाखौँ रकम बुझाउनुभयो । यूएईको स्पार्क सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा जान सपोर्ट ह्युमन रिसोर्स प्रालिलाई गएको मंसिरमा अढाई लाख रुपैयाँ बुझाएको रमेश भण्डारीले बताउनुभयो ।

१५ दिनमा आउँछ भनेको भिसा दुई महिना बित्न लाग्दा पनि नआउँदा रमेश अब के गर्ने भन्दै दोधारमा हुनुहुन्छ ।

सुरक्षा गार्डमा यूएई जान किन मरिहत्ते ?

नेपालमा सुरक्षा गार्डको काम गर्न नचाहने तर लाखौँ रुपैयाँ तिरेर त्यही सुरक्षा गार्डमा यूएई जान चाहने धेरै हुन्छन् । त्यहाँ सुरक्षा गार्डको मासिक तलब पचास हजारदेखि एक लाखभन्दा माथि हुन्छ । यही कमाइको आशामा धेरै नेपालीहरु सुरक्षा गार्डमा यूएई जान मरिहत्ते गर्छन् । कोही साथीभाइको प्रगति देखेर त कोही म्यानपावरको कुरा सुनेर सुरक्षा गार्डमा यूएई जान तम्सिन्छन् ।

यूएईमा सुरक्षा गार्डमा गएर राम्रो कमाइ गरिरहेका गाउँका एकजना दाइबाट प्रेरित भएर रमेश भण्डारीले आफू पनि सुरक्षा गार्डमा नै यूएई जाने सोच बनाउनुभयो ।
‘यूएई गएको दुई वर्षमै त्यो दाइले गाउँमा तीन तले पक्की घर बताइसक्नुभयो । कमाइ एक लाखभन्दा बढी छ भन्नुहुन्थ्यो ।’ रमेशले आफू पनि सुरक्षा गार्डमा यूएई जान चाहनुको कारण बताउनुभयो ।

यस्तै, प्रहरीको हवल्दारबाट अवकाश पाउनुभएका दिपक आचार्यले पनि अवकासपछि बाँकी जीवन केही गरौँ भनेर नै सुरक्षा गार्डमा यूएई जाने सोच्नुभयो । नेपालका अवकासप्राप्त सेना, प्रहरीलाई यूएईका चलेका सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको काम सजिलै पाइन्छ भन्ने सुन्नुभएको थियो । कमाइ पनि मनग्गे हुने भन्ने थाहा पाएपछि दीपकलाई पनि एकपटक यूएई जानैपर्ने लाग्यो । 

‘१६ वर्ष प्रहरीमा सेवा गर्दा दैनिक गुजारा चलाउनबाहेक अरु केही प्रगति भएन’, उहाँले भन्नुभयो, ‘केही प्रगति हुन्छ कि भनेर यूएई जान खोजेको ।’

यस्तै, यूएईमा सुरक्षा गार्डमा जानको लागि ५ लाख रुपैयाँभन्दा बढी लाग्छ भन्ने सुनेका सुर्खेतका रमेशलाई भने म्यानपावरले अढाई लाख रुपैयाँ मात्र लाग्छ भनेपछि झनै उत्साहित बनायो । ‘मेरा साथीहरु त उहिले पाँच लाख रुपैयाँ तिरेर गएका थिए, मलाई त अढाई लाख मात्रै लाग्छ भने पछि सस्तोमा जान पाइने भयो भन्ने सोचेको थिएँ’, उहाँले भन्नुभयो ।

राम्रो काममा जानको लागि बाध्य भएर आफूहरुले बढी पैसा बुझाएको रमेश बताउनुहुन्छ, ‘जाउँ भने बढी रकम बुझाउनुपर्ने र बढी रकम नबुझाउँदा जान नपाइने ।’

आकर्षक मानिने सबै काममा म्यानपावरको लुट

सुरक्षा गार्ड मात्र होइन, ट्याक्सी ड्राइभर, कुक र पाँचतारे होटेलमा आकर्षक जागिर मानिने विभिन्न प्रकारका कामको लागि म्यानपावरले मनलाग्दो रकम असुल्ने गरेका छन् । 

यूएईमा ट्याक्सी ड्राइभरको लागि कामदार मागेको छ भन्ने थाहा पाएर रामेछापका नकुल भट्टाराई गएको मंसिर महिनामा नयाँ बानेश्वरमा रहेको अल जराफा ह्युमन रिसोर्स म्यानपावर पुग्नुभयो । तर म्यानपावरले सुरुमै दुई लाख रुपैयाँ लाग्ने भनेपछि उहाँ फर्किनुभयो ।

‘सरकारले फ्रिभिसा, फ्रिटिकट भनेको भएर म बुझ्न गएको थिएँ । तर त्यत्रो पैसा लाग्छ भन्छ’, उहाँले भन्नुभयो, ‘आखिर फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउने म्यानपावर कहाँ छन् ?’

यस्तै पाँचतारे होटेलमा हाउसकिपिङको काम लगाइदिने भनेर काठमाण्डौको सामाखुसीमा रहेको सक्सेस डेभलपमेन्ट प्रालि नामक म्यानपावर कम्पनीले मोरङका चुडामणि कट्टेललाई दुईलाख रुपैयाँ लाग्ने भन्दै सुरुमा पचास हजार रुपैयाँ माग्यो । गएको वर्ष फागुनको कुरा हो । तर १५ दिनमा पठाउने भनेर पाँच महिनासम्म पनि नपठाउँदा आफ्नो रकम फिर्ता गराइ पाउँ भन्दै वैदेशिक रोजगार विभाग धाउनुपरेको कट्टेलले बताउनुभयो ।

‘विदेश गए केही कमाइ हुन्छ कि भनेर यत्रो पैसा खर्च गरेर त हामी जान खोज्छौँ । तर जान पाईंदैन’, उहाँ प्रश्न गर्नुहुन्छ, ‘म्यानपावरको यस्तो ठगी कहिलेसम्म ?’

कानुनी व्यवस्था के छ ?

वि.सं.२०७२ असार २६ गतेबाट नेपाल सरकारले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था सुरु गर्‍याे त्यो व्यवस्थाअनुसार खाडीको ६ देश (कतार, साउदी, यूएई, कुवेत, बहराइन, ओमान) र मलेसिया गरी सात देशमा कामदार पठाउन १० हजार रुपैयाँमात्र लिने मिल्ने व्यवस्था लागू भयो । भिसा र आतेजाते हवाइयात्राको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी यो व्यवस्था लागू भएको थियो ।

यो व्यवस्थापछि मलेसियालगायत खाडीका सबै देशमा रोजगारीका लागि जुनसुकै काममा गए पनि पैसा नलाग्ने बताउनुहुन्छ वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँ ।

‘यदि वैदेशिक रोजगारीमा गएको हो भने चाहे त्यो म्यानेजर पदमा हो वा निर्माणको कामका लागि हो, सबै निःशुल्क हुन्छ,’ गुरागाईँले भन्नुभयो, ‘सेवा शुल्क वापत १० हजार रुपैयाँबाहेक कुनै पनि शुल्क लाग्दैन र लिन पनि पाउँदैन ।’

नेपालबाट श्रमिक पठाउने विषयमा नेपाल सरकारले मलेसिया र यूएईसँग अलग्गै समझदारी पनि गरेको छ । समझदारीमा नेपालबाट जुनसुकै क्षेत्रमा कामदार पठाउँदा शून्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने र बिमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने व्यवस्था रहेको छ । 

तर सरकारले सेवा शुल्क बापत न्यूनतम रकम तोकेको भए पनि म्यानपावरले श्रमिकबाट विभिन्न बहानामा पैसा लिन छोेडेका छैनन् । बढी पैसा लिदै गरेको अवस्थामा विभागले कति म्यानपावरलाई रंगेहात पक्रेको पनि छ ।

म्यानपावरको यस्तो लुटबाट जोगिन श्रमिकहरु आफैँ सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँ बताउनुहुन्छ । ‘म्यानपावरले मागेजति पैसा बुझाउनुहुँदैन’, उहाँ भन्नुहुन्छ, ‘यदि कुनै म्यानपावरले बढी पैसा मागिरहेको छ भने वैदेशिक रोजगार विभागमा आएर सूचना दिएमा विभागले म्यानपावरविरुद्ध कारवाही अगाडि बढाउँछ ।’

२०७३ चैत ३१ मा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयलाई निर्देशन दियो । समितिले वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी बनाएर ठगी नियन्त्रण गर्न र गैरकानुनी क्रियाकलापमा संलग्न म्यानपावर कम्पनीहरूलाई कारवाही गर्न समेत निर्देशन दिएको थियो । 

वैदेशिक रोजगार ऐन, २०६४ ले पनि तोकेकोभन्दा बढी पैसा लिने म्यानपावर कम्पनीलाई कारवाहीको व्यवस्था गरेको छ । 

सरकारले तोकेकोभन्दा बढी रकम लिएर वैदेशिक रोजगारीमा पठाउने म्यानपावरलाई तिरेको पैसा फिर्ता गराउनुका साथै एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ । वैदेशिक रोजगार ऐनको धारा ५३ मा प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा यस्तो सजाए हुने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • GARIB GAULE

    Feb. 23, 2020, 12:26 p.m.

    तीनकुनेमा रहेको भण्डारी ओभरसीज पनि ठीक छैन है ....यसले मलेसिया पठाउँछु भनेर शुल्क नलाग्ने मान्छेलाई लाखौँ रुपियाँ घुस खाको छ /मेडिकलको नाममा पनि पैसा खाको छ /यो म्यानपावरको तत्काल छानबीन होस् र यस्तो ठगलाई श्रम मन्त्रालयले कारवाही गरोस् / हामीलाई पनि २ महिना सम्म एयरपोर्टको वास गराएर अलपत्र गर्यो / त्यसैले नागरिक सचेत होउन/

  •  0 Reply
  • Surya Narayan pariyar

    Feb. 21, 2020, 9:40 p.m.

    सरकार ले नियम लागु गरे पनी कुनै मेनपावर ले नियम अनुसार काम गरेको सेखिन्न । एस्मा सरकार को पनी कमी कमजोरि देखिंछ । हात्ति को देखाउने दाँत र चपाऊने फरक हुंछ भने जस्तै हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया