विदेशमा हुनुहुन्छ ? कोरोनाबाट सचेत हुनुहोस्

 फागुन ९, २०७६ शुक्रबार १७:५३:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – चीनबाट फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण अरु देशमा पनि फैलिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण त देखिएको छैन, तर धेरै संख्यामा नेपाली रहेका अरु केही देशमा चाहिँ कोरोनाको संक्रमण देखिएको छ ।

चीनसँगै धेरै संख्यामा नेपाली रहेका मलेसिया, दक्षिण कोरिया, जापान लगायत देशमा कोरोनाको संक्रमण फैलिएको छ । सरकारी तथ्याँक अनुसार झण्डै पाँच लाख नेपाली मलेसियामा छन् । यस्तै दक्षिण कोरियामा सन् २००८ देखि २०१९सम्ममा इपीएस प्रणालीबाट ६५ हजार ८४५ नेपाली रोजागरीका लागि गएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि २५ लाख मानिसलाई घरभित्रै बस्न त्यहाँको सरकारले आग्रह गरेको छ । दक्षिण कोरियाली डाइगु नगर क्षेत्रमा बिहीबार मात्रै थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो । दक्षिण कोरियामा अहिलेसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ । 

यस्तै, जापान, अस्ट्रेलिया, हङकङ, मकाउ, सिङ्गापुर लगायतका देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । वैदेशिक रोजगारी, पढाई या अरु कामको सिलसिलामा तपाईं यी देशमा हुनुहुन्छ भने काम गर्दा, बाहिर निस्कंदा होस् या घरमै बस्दा विशेष सतर्कता अपनाउनुहोस् । 

बच्न के गर्ने ?

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसले आक्रमण गर्नुभनदा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईँ रहेको ठाउँमा यो भाइरसको संक्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ ।

यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बेलाबेलामा राम्रोसँग साबुन पानीले हात धोइरहने गर्नुपर्छ । 

रुघाखोकी लाग्नेबित्तिकै प्रशस्त्र मात्रामा झोलिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाहअनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ । 
यस्तै नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल अस्पताल गएर जाँच गराउनुपर्छ । यसरी सतर्कता अपनाउँदा भाइरसले आक्रमण गर्ने जोखिम पनि कम हुन्छ ।

 रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, अत्याधिक ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने र अस्वस्थ महशुस हुने यो भाइरसको लक्षण हो । तर सामान्य रुघाखोकी लाग्दैमा आत्तिन नपर्ने, तर सचेत भने हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया