व्यवसायीको हकहितका लागि ३० लाख रुपैयाँको अक्षयकोष

 साउन ९, २०७५ बुधबार १०:४४:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले ३० लाख रुपैयाँ बराबरको व्यवसायी हितकोष स्थापना गरेको छ । संघमा आवद्ध उद्योगी, व्यवसायीहरुलाई लक्षित गर्दै संघले चालु आर्थिक वर्ष २०७५/७६ को साउन महिनाको सुरुदेखि लागू हुनेगरी व्यवसायी हितकोष सञ्चालन गरेको हो । 

संघको मङ्गलबार बसेको कार्यसमितिको सातौं वैठकले ‘व्यवसायी हितकोष, सञ्चालन कार्यविधि–२०७५’लाई अनुमोदन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी उद्योग वाणिज्य संघमा आबद्ध सदस्यहरुबाट प्रति सदस्य दुईहजार रुपैयाँका दरले सहयोग लिनेगरी व्यवसायी हितकोषलाई अगाडि बढाइएको छ । उद्योग वाणिज्य संघमा हाल २ हजार २ सय जना साधारण सदस्यहरु आवद्ध छन् ।

चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइएको व्यवसायी हितकोषमा आगामी एक वर्षभित्रै ३० लाख रुपैयाँ जम्मा गरिने लक्ष्य राखिएको संघका महासचिव गौतमको भनाइ छ । यसअघि उद्योग वाणिज्य संघले प्रति सदस्य एकसय रुपैयाँ व्यवसायी हितकोष भनेर लिने गरेको थियो । कोषबाट संघमा आबद्ध कुनै पनि सदस्य भवितव्य वा दुर्घटनामा परेको खण्डमा निज व्यक्तिलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिइने बताइएको छ । यसैगरी प्राकृतिक प्रकोपबाट पेशा तथा व्यवसायमा क्षति पुगेमा ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने भएको छ । 

त्यस्तै संघका सदस्यको परिवारका अन्य सदस्यहरु श्रीमान् वा श्रीमती, बाबुआमा र छोराछोरी पीडामा तथा अप्ठ्यारो अवस्थामा परेमा व्यवसायी हितकोषबाट २५ हजार रुपैयाँ सुहानुभूतिस्वरुप आर्थिक सहयोग गरिने व्यवसायी समेत रहनुभएका संघका महासचिव गौतमले बताउनुभयो । न्युनतम रुपमा पनि चालु वर्षमै हितकोषमा ३० लाख रुपैयाँ रकम पु¥याइने लक्ष्य राखिएको छ । हितकोषमा रहेको रकमबाट प्राप्त व्याजले सहयोग गरिने हुँदा सो रकम अन्य शीर्षकमा खर्च गरिने छैन । 

संघमा आवद्ध व्यवसायीलाई कुनै पनि समयमा पर्नसक्ने अप्ठ्यारोलाई कम गर्नका लागि उसलाई सुहानुभूति प्रदान गर्ने उद्देश्यले व्यवसायी हितकोषलाई अगाडि बढाइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । हितकोषमा न्युनतम पनि चालु आवभित्रै ३० लाख रुपैयाँ पु¥याइने र कोषलाई निरन्तर रुपमा अगाडि बढाइने अध्यक्ष कर्माचार्यले बताउनुभएको छ । 

मङ्गलबारको सातौं वैठकले संघको २५औं वार्षिक साधारणसभा आगामी भदौको १६ गते गर्ने निर्णय गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघकै पहलमा २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउने गरी घोषणा गरिएको छ । २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको साथसाथै जिल्लाको सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया