परदेशीसित कुरा गर्न नपाउँदा छोराछोरी कुट्ने आमाहरुका मन फेरिए

 साउन ९, २०७५ बुधबार १३:५१:३७
unn.prixa.net

खोटाङका महिलालाई सामुहिक मनोपरामर्श दिइँदै ।

सरिता राजभण्डारी । 

खोटाङ – रुपाकोट मझुवागढी नगरपालिका–१ कि प्रमिला आचार्य विदेशमा भएका श्रीमानसँग आफूलाई परेका समस्या सुनाउन खोज्नुहुन्थ्यो । तर श्रीमानलाई श्रीमतीका समस्याका कुरा बेलिबिस्तार लाएर सुन्ने फुर्सद थिएन ।

कहिलेकाहीँ सुनेका कुरा फोन गर्दा परिवारका अरु सदस्यालाई सोध्नुहुन्थ्यो । त्यसले परिवारका अरु सदस्यसँग झगडा हुन्थ्यो । त्यसले भइरहेको तनावलाई झनै बढाउँथ्यो । अनि त्यो रिस उहाँले छोराछोरीमाथि पोख्नुहुन्थ्यो, कुटेर । 

वडा नम्बर ८ का तारा आचार्यको समस्या पनि प्रमिलाको जस्तै थियो । छोराछोरीले केही कुरा गर्न खोजे भने उनीहरुका कुरा सुन्नुपर्छ भन्ने लाग्दैनथ्यो तारालाई । त्यसैले उनीहरुलाई कुटेर आफूभन्दा टाढा राख्नुहुन्थ्यो । 

प्रमिला र ताराका समस्या प्रतिनिधि समस्या हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिका परिवारमा यस्ता धेरै खालका समस्या आउने गरेको पाइन्छ । आफू र परिवारको ख्याल नगर्ने, कामका लागि समय व्यवस्थापन गर्न नजान्दा त्यसले हुने तनाव, समय भएको बेलामा अरुका कुरा गर्दा हुने समस्याले परदेशीका परिवारलाई सताउने गर्छ । 

खोटाङबाट विदेश गएका व्यक्तिको परिवारका सदस्यालाई सामुहिक मनोपरामर्श दिएपछि यस्तो समस्या रहेको देखिएको हो । नवकिरण सेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत मनोसामाजिक परामर्श समूह छलफलमा एक सय ९७ जनालाई १४ वटा समुहमा परामर्श दिइएको हो । ७ औं पटकको परामर्शपछि उनीहरुमा परिवर्तन देखिएको छ । 

कक्षामा बसेका सहभागी आफूले छोराछोरीसँग पनि कुरा गर्नुपर्ने रहेछ भन्ने थाहा पाएको बताउँछन् । त्यति मात्रै होइन समय व्यवस्थापन गर्न नजान्दा कामको बोझले शरीर र स्वस्थ्यमा पर्ने असर, विदेश गएका परिवारका सदस्यसँग बोल्ने तरिका पनि सिकेको उनीहरु बताउँछन् । 

‘म अहिले आफ्नो छोराछोरीलाई कुट्दिन । कक्षामा सिकाए जसरी श्वासप्रश्वास विधि  र पानी पिउँदा तनाव निकै कम हुनेरहेछ ।’ तारा आचार्य भन्नुहुन्छ ‘कुट्दा भन्दा माया गरेर भनिएका कुरा छोराछोरीले मान्ने रहेछन भन्ने पनि सिकेका छौं ।’

कक्षाका सहभागीले विदेश गएकाहरु परदेशको काम र परिवेशले तनावमा रहने भएकाले उनीहरुसँग सधैं पैसाका कुरा मात्रै गर्नु नहुने रहेछ भन्ने पनि बुझेका छन् । ‘पैसा चाहियो कि उनीहरुले नै पठाइदिन्छन् अनि पठाइदिनुपर्छ भन्ने लाग्थ्यो’ प्रमिला आचार्य भन्नुहुन्छ । त्यही कुराले प्रमिलाको धेरै पटक श्रीमानसँग फोनमै मनमुटाव पनि भयो । 

तर अहिले उहाँ फेरिनुभएको छ । बोल्ने तरिका पनि फेरिएको छ । अहिले कुरा गर्दा सुरुमा सन्चो बिसन्चो ,काम , स्वास्थ्यका बारेमा कुरा गरेपछि मात्रै पैसाका कुरा गर्नु पर्ने रहेछ भन्ने बुझ्नुभयो । ‘अहिले फोनमा बोल्दा म व्यहारका कुरा पनि उहाँलाई तनाव नहुने गरी गर्छु, कहिले काहीँ त उहाँ छक्क पर्नुहुन्छ’ प्रमिलाले सुनाउनुभयो । 

घर खर्चका लागि आफैं केही न केही काम गर्न थालेपछि उनीहरुले विदेश गएकाहरुसँग भर पर्नु परेको छैन । त्यसैले अहिले घर खर्चका कारण हुने तनावबाट उनीहरु मुक्त भएका छन् ।

तनाव कम गर्न कुरा सुनिदिनु पर्ने रहेछ भन्ने पनि थाहा पाए उनीहरुले । त्यसैले अहिले उनीहरु आफ्ना कुरा सुनाउँछन अनि अरुका कुरा पनि सुन्छन् । यसले मनमा हुने तनाव कम भएको बताउनुहुन्छ प्रमिला चौहान । 

त्यस्तै कामको बोझ कम गर्न काम बाँढेर गर्न थालेका छन् । कामका लागि ज्यान बलियो हुनुपर्ने रहेछ भन्ने बुझेपछि तनाव घटाएर खुशी हुन सिकेको बताउनुहुन्छ जमुना राई । यस्तै समस्यामा परेको ११ पुरुष र ६२ महिलालाई मनोसामाजिक परामर्श दिइएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया