उत्तर कोरियाले ३ सय ८० विदेशीलाई क्वारेण्टाइनमा राख्याे

 फागुन १२, २०७६ सोमबार १२:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उत्तर कोरियाले विदेशी कूटनीतिज्ञसहित अरु देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । 

देशभित्र अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि छिमेकी देश दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि उत्तर कोरियाले झण्डै ३ सय ८० जना विदेशी नागरिकलाई छुट्टै ठाउँमा क्वारेण्टाइनमा राखेको बीबीसीले जनाएको छ । 

उनीहरुमध्ये धेरैजसो मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी रहेका छन् । झण्डै दुई सय जना विदेशी नागरिकलाई एक महिना अघिदेखि आफ्नो निवासमा सीमित पारिएको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ । 

७ सय ६३ जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि दक्षिण कोरियामा उच्चतम तहको सतर्कता घोषणा गरेर कोरोनाभाइरस प्रकोप नियन्त्रणको प्रयास भैरहेको छ । सेनामा ११ जनालाई सङ्क्रमण भएको पाइएपछि ७ हजार ७ सय जना सैनिकलाई क्वारेन्टाइनमा राखेको छ । 

देगु क्षेत्रमा सबै उडानहरु बन्द गराएको छ । यसैबीच कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६६ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २१ जनाको ज्यान गएको हो । 

कोरोना संक्रमितको संख्या झण्डै ८० हजार पुगेको छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया