ट्रम्पकाे सुरक्षाका लागि २२ किलाेमिटरसम्म सुरक्षाकर्मी तैनाथ

 फागुन १२, २०७६ सोमबार १४:४०:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति बनेपछि पहिलाे पटक भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे सुरक्षामा भारत सरकारले कुनै कसर बाँकी राखेकाे छैन । 

पूरै अहमदाबाद शहर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलाठूला ‘कटआउट’ र होर्डिङ्ग बोर्डले भरिएका छन् । 

ट्रम्प र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको तस्बिर पनि होर्डिङ्ग बोर्डमा लगाइएका छन् । नमस्ते ट्रम्प कार्यक्रमलाई भारत र अमेरिकाको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । 

अहमदाबाद एअरपोर्टदेखि मोटेरा स्टेडियमसम्मको २२ किलोमिटरको बाटोमा ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यो पूरै रुटमा रङ्गरोगन गरिएको छ, विभिन्न फूल र बत्तीले सजाइएका छन् । 

अहमदाबाद शहर कुनै सैनिक अड्डा जस्तै देखिएको छ । जहाँ बर्दीमा सुरक्षाकर्मी यत्रतत्र देखिन्छन् । सडकमा पनि ठूलो सङ्ख्यामा सुरक्षाबलको गाडी दौडिरहेको देख्न सकिन्छ । 

वरिष्ठ अधिकारी पनि सैनिक जवानसँगै खटिएका छन् । एअरपोर्टदेखि स्टेडियमसम्मको दुरीको रुटमा प्रहरीको गाडीको साइरन सुन्न सकिन्छ । 

प्रहरीले साना साना कुरामा पनि ध्यान दिइरहेको छ । कालो लुगा लगाउने र दर्शक दीर्घाबाट कसैले केही कुरा फ्याँक्छ कि भनेर प्रहरी चनाखो बनेको छ । 

राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । 

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । 

दुई देशका प्रमुखबीच व्यापारिक सम्भाैता हुने बताइएकाे छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया