दैलेख कारागार : पुरुषभन्दा महिला कैदीबन्दीमा बढी मानसिक समस्या

 फागुन १३, २०७६ मंगलबार १४:४१:९ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेख जिल्ला कारागारमा रहेका पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीमा बढी मानसिक समस्या रहेको पाइएको छ।

नेपाल प्रहरी अस्पतालका मनोरोग चिकित्सक विशेषज्ञ डा.आशिष दत्तसहितको टोलीले गरेको अनुसन्धानले ७० प्रतिशत महिला कैदीबन्दीमा मानसिक समस्या रहेको पाइएको हो ।

१३ जना महिला कैदीबन्दीमध्ये ९ जनामा आत्तिने समस्या र २ जनामा डिप्रेसनको समस्या देखिएको दत्तले बताउनु भएको छ । गएको फागुन १० गतेदेखि स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्धामा सजाय भोगिरहेका महिलामा अझै बढी समस्या देखिएको छ । मानसिक समस्या देखिएका १५ जना पुरुष कैदीमध्ये २ जना डिप्रेसन अवस्थामा पुगेको दत्तले बताउनुभयो । 

८० जना पुरुष र २० जना महिला गरी सय जना कैदीबन्दीको क्षमता रहेको यस कारागारमा अहिले १ सय २९ जना पुरुष र १३ जना महिला समेत  १ सय ४२ जना कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा चलिसकेपछिको मानसिक अवस्थाबारे अध्ययन गरिएको हो ।

महिलामा बहुविवाह, सम्बन्ध बिच्छेद,पारिवारिक चिन्ताको कारण मानसिक समस्या देखा परेको अनुसन्धानबाट खुल्न आएको छ। पुरुषमा भने लागुऔषध ओसारपसार तथा दुर्व्यसनीकाे मुद्दामा परेका कैदीबन्दीहरुमा आत्तिने, निरासा, हतोत्साही हुने समस्या देखिएको बताइएको छ । 

कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि उपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताउनुभयाे ।

निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले नियोजित वा आवेशजन्य परिवेशमा भएको अपराध कर्म स्वीकार गरेकाहरुलाई सुधार गर्न कारागार बनाइएको बताउनु भयो । कानुन व्यवहारिक हुननसक्दा कैदीबन्दीमा मानसिक समस्या पैदा गराएको टिप्पणी गर्दै उहाँले समय अनुसारका कानुन सुधार गर्नुपर्ने बताउनुभयो।

कारागारमा बहुविवाह गरेका महिलाबाट जन्मेका २ वर्ष मुनिका एक बालिका र एक बालक आमासँग कारागारमै रहेकाे जेलर जीतबहादुर खत्रीले जानकारी जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया