गैँडा गणना आउँदाे चैत १ देखि

 फागुन १४, २०७६ बुधबार ६:५३:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ । 

फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिनुभयो । नेपालका चार वटा निकुञ्जमा गैँडा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना छ ।

श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । वन मन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ ।   

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यस पटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । उहाँका अनुसार गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गएकाे वर्ष नै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको थियो ।   

हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया