संसद बैठकमा सेक्युरिटी प्रेसबारे प्रश्नै प्रश्न

 फागुन १४, २०७६ बुधबार १५:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्र कुमार केसीले पूर्वसञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्ना जस लिन २-२ घण्टा रोष्ट्रम कब्जा गर्ने प्रधानमन्त्रीजी, आज यत्रो ठ"लो काण्डै काण्ड मच्चिँदा उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ?’

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पुर्वसञ्चारमन्त्री  गोकुल प्रसाद बास्कोटा र विजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रंगमती शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परकेो भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएरका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गर्नुभयो ।

‘एन एले फ्लाइट नगरेको ३ महिना भयो । अब मैले सरकारको बाहुलीमा विन्ति चढाउन पर्ने भयो । एन ए को जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाईबक्सियोस् भनी प्रधानमन्त्री ज्यूको बाहुलीमा विन्ति चढाउँछु ।’

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौँ भ्रष्टाचार भइरहँदा किन चुप बस्छन् प्रधानमन्त्री ?’भनी प्रश्न गर्नुयो । 

त्यसैगरी शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद बिमला नेपालीले आफ्ना संसदीय दलका नेता शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत भू-भागलाई तत्काल नेपालको नक्सामा पार्न सरकारलाई दिएको ऐक्यबद्धता कार्यान्वयन हुन नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिन बहाहदुर विश्वकर्माले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरि बस्ने कैलाली धनगढी निवासी  दिपा नेपालीलाई दलित समुदायकी भएको थाहा पाएपछि घरबेटीले घर खाली गर्न भनी यातना दिने गरेको भन्दै संविधानको धारा २४ र जातीय भेदभाव र छुवाछुत कसुर सजाय ऐन अनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना पाण्डेले उपसभामुख चयनमा भइरहेको ढिलाई प्रति सभामुख र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिला उपसभामुख हुने कारणले नै उपसभामुख चयनमा सदन बेखबर भएर बसेको हो?  भनी प्रश्न गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले मंगलबारको बैठकमा ५८ जना मात्रै सांसद भएकाले र कोरम नपुगेका कारण बैठक स्थगित गर्नुपरेको उल्लेख गर्दे कुन दलको कुन कुन सांसद सुरु देखि अन्तिम सम्म बसेको वा नबसेको बारे फेयरिस्त राख्न सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका जाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया