प्रदेश १ बैठकमा नेपाल–भारत सीमा क्षेत्रको नापजाँचकाे माग

 फागुन १४, २०७६ बुधबार १७:१०:४२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ काे प्रदेश सभामा नेपाल–भारत सीमा क्षेत्रको नापजाँचदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा देखिएको समस्याको विषय उठेको छ ।

मंगलबारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्य खिनु लङ्वा लिम्बूले सीमा नाका नापी नहुँदा निर्माणको काम नभएको बताउनुभयो । ईलाम जिल्लामा संयुक्त नापी हुने कुरा भएको लामो समय भएपनि अझै हुन नसकेको बताउनुभयो । उहाँले नेपाल–भारतको संयुक्त नापी टोलीले झापासम्म नापजाँच गरेको भए पनि ईलाम लगायतका जिल्लामा नापी नगर्दा यस आर्थिक बर्षमा संचालन हुने योजनाहरु संचालनमा समस्या हुने जानकारी गराउनुभयो ।

यस अघि पनि सिमानामा नापी गर्न पटक पटक माग गरिएको भए पनि त्यो बारेमा अहिलेसम्म  सुनुवाइ हुन नसकेको सदनमा जानकारी गराउनु भयो ।

सांसद प्रतापप्रकाश हाङ्गामले प्रदेश सभामा मन्त्री नभएको र राज्यमन्त्री रहेको अवस्थामा पनि आफ्नो विषय राख्न बाध्य भएको जानकारी गराउँदै दोहोरो ठेक्का लगाएको बारेमा ध्यानाकर्षण गराउनु भयो । एउटै ठाउँमा दोहोरो ठेक्का लाग्ने गरेको जानकारी दिँदै अबको तीन वर्षमा के के हुने हो हेर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

सांसद सावित्री जोशीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको २६ वर्ष पूरा भएको अवस्थामा अझै  सेवा सुविधा विस्तार हुन नसकेको उल्लेख गर्नुभयो । भारतको बिहार, पश्चिम बंगाल, प्रदेश १ र २ का  बिरामी आउने अस्पतालमा अहिले पनि सेवाग्राहीलाई सेवा लिन समस्या हुने गरेको बताउनुभयो ।

आईसीयूमा राख्नुपर्ने अवस्थाका बिरामीलाई बाहिर पठाउने गरिएकोबारेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘आईसीयू खाली नभएको भन्दै चिकित्सकहरुले नै बिरामीलाई बाहिर लैजान भन्ने गरेको गुनासाहरु आएका छन्’, सांसद जोशीले भन्नुभयो, ‘अस्पतालमा भर्ना हुन आएका बिरामी फर्काइँदा बिरामीको अकालमा नै ज्यान जाने गरेको छ ।’  

उहाँले अस्पतालमा रहेको आईसीयू वृद्धि गरी १० बाट ५० वटा पुर्याउनु पर्ने माग राख्नुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया