अलैँचीको बिरुवाको मूल्य ताेकियाे, बिरुवाको मूल्य घट्यो

 जेठ ११, २०७५ शुक्रबार १४:०:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ, जेठ ११ - अलैँचीको बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यावसायी महासंघ लमजुङ, अलैँची तथा अलैँची बिरुवा उत्पादक किसान, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि, अलैँची जोन कार्यक्रमका प्रतिनिधिबीच बसेको बैठकले अलैँचीको बिरुवाको मूल्य निर्धारण गरेको हो ।

अलैँचीको बिरुवा रोप्ने समय सुरु भएसँगै सरोकारवालाबीच छलफल गरी अलैँचीको बिरुवाको नयाँ मूल्य निर्धारण गरिएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीमा उत्पादित ३२ महिना पूरा भएका प्रतिबिरुवाको मूल्य ८ रुपैयाँ निर्धारण गरिएको छ । अलैँचीको पुरानो गाँज (पान्ना) बाट निकालिएको प्रति बिरुवाको मूल्य ५ रुपैयाँ तोकिएको छ ।

मूल्य घट्यो  

गएको वर्षभन्दा यो वर्ष अलैँचीको बिरुवाको मूल्य घटेको हो । गएको वर्ष नर्सरीमा उत्पादित प्रति बिरुवाको मूल्य ९ रुपैयाँ थियो । पुरानो गाँजबाट निकालिएको प्रति बिरुवाको मूल्य ७ रुपैयाँ निर्धारण गरिएको थियो । विगतको वर्षको तुलनामा बिरुवाको माग कम भएको, अलैँचीको मूल्य घटेको, अलैँचीको बिरुवा उत्पादक किसानसमेत बढेका कारण जिल्लामा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको तामाङले बताउनुभयो ।

अलैँची उत्पादक किसान एवम् अलैँची व्यावसायी समेत रहनुभएका तामाङका अनुसार जिल्लामा फर्म दर्ता गरी व्यवसायिक रुपमा नर्सरीमै अलैँचीको बिरुवा उत्पादन गर्ने किसान १० जना रहेका छन् । अलैँची उत्पादक किसान भने झण्डै २५ हजारको हाराहारीमा छन् ।

लमजुङ अलैँचीको बिरुवामा आत्मनिर्भर छ । यहाँ उत्पादित अलैँचीको बिरुवा गोरखा, कास्की, स्याङ्जा, मनाङलगायतका जिल्लामा पुग्ने गरेको छ । जिल्लाको घनपोखरा, बाँझाखेत, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, फलेनी, ढोडेनी, पसगाउँलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती गरिएको छ ।

किसानका अनुसार लमजुङमा रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले, साउनेलगायतका जातका अलैँचीको खेती हुँदै आएको छ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया