वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन रोल्पामा आप्रवासी स्रोत केन्द्र स्थापना

 फागुन १५, २०७६ बिहिबार १२:३१:१३

रोल्पा – रोल्पामा आप्रवासी श्रोत केन्द्रको स्थापना भएको छ  । वाध्यात्मक वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाइ प्रतिफल वृद्धि गर्न र सामाजिक लागतलाई कम गर्ने उद्देश्यले आप्रवासी श्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो ।

मंगलबार रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले आप्रवासी श्रोतकेन्द्रको उद्घाटन गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटसँगै खुलेको आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरुलाई कसरी वैदेशिक रोजगारीमा जाँदा सुरक्षित भइन्छ भन्ने विषयमा परामर्श दिने, वैदेशिक रोजगारीमा जाने इच्छुक व्यक्तिहरुलाई निःशुल्क तालिमका लागि सिफारिस गर्ने, वैदेशिक रोजगारीमा अप्ठ्यारो परेकालाई कानुनी सहायताका लागि सहजिकरण गर्ने लगायतका काम गर्नेछ ।

पहिला वैदेशिक रोजगारीमा नबुझेर लहैलहैमा जाने हुनाले  समस्यामा पर्ने गरेकोमा अब यस्ता समस्या रोल्पाबासीले भोग्नु नपर्ने रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले बताउनुभयो । 

यो कार्यक्रम नेपाल सरकारकै भएकाले पनि आफूहरुले पूर्ण सहयोग गर्ने र गरिरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा दोरङ्गाले बताउनुभयो । 

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यान्वयनका क्रममा रोल्पा नगरपालिका रोल्पा, परिवर्तन गाउँपालिका, रुन्टिगढी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका  र स्थानीय संस्था विकास सरोकार समाज रोल्पाको सहकार्यमा आप्रवासी श्रोत केन्द्र सञ्चालनमा आएको हो ।

    
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया