दुर्गमको सेवामा समर्पित अस्पतालले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

 फागुन १५, २०७६ बिहिबार १२:५३:३७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेपालमा तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेकै वर्ष २०५२ सालमा एक विदेशी संस्थाले सशस्त्र संघर्षको उद्गम थलो मानिएकोे रुकुममा एउटा अस्पताल स्थापना गरेको थियो । सशस्त्र द्वन्द्वका कारण केही समयपछि विदेशीहरुले छोडेर गएपछि मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले त्यो अस्पताल सञ्चालन गर्न थाल्यो । रुकुम पश्चिमको चौरजहारी अस्पतालले सुगम शहरको अस्पतालजस्तो स्वास्थ्य सेवा दिने गरेको छ । त्यसैले यो अस्पताल अहिले यस दुर्गम भेगका विभिन्न जिल्लाका बासिन्दाका लागि वरदान साबित भएको छ ।

मानव विकास तथा सामुदायिक सेवाले ५० शैय्याकाे अस्पताल सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । तर हरेक दिन भर्ना हुने बिरामीको सङ्ख्या भने दोब्बर हुने गरेको छ । वर्षैपिच्छे बिरामीको चाप बढ्दै गएपछि अस्पताललाई झन् नमुनाको रुपमा विकास गर्दै लगिएको छ । अस्पतालले पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासहितका सेवा दिन थालेपछि बिरामीहरुको सङ्ख्या दोब्बरले वृद्धि भएको अस्पताल प्रशासनको भनाइ छ । 

रुकुम पश्चिम र रुकुम पूर्वका साथै छिमेकी जिल्लाहरु जाजरकोट, सुर्खेत, डोल्पा र सल्यानका झण्डै ६५ हजार बिरामीले एक वर्षमा यस अस्पतालबाट स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो । अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा त एकातिर छँदै छ । गरिब तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी स्वदेशी तथा विदेशी डाक्टरहरुको संलग्नतामा अस्पतालले समय समयमा गर्ने निःशुल्क स्वास्थ्य शिविरले अस्पतालप्रति बिरामीको भरोसा बढिरहेको अस्पताल प्रशासक गिरीले भन्नुभयो ।  

बिरामीलाई उपलब्ध गराइने सेवा सुविधाको हिसाबले चौरजहारी अस्पताल कर्णाली प्रदेशमै नमुना अस्पतालको रुपमा स्थापित भएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनुभयो । दुर्गम क्षेत्रमा रहेर पनि सुगम अस्पतालको जस्तो सेवा सुविधा उपलब्ध गराएकै कारण यो अस्पतालले धेरै बिरामीहरुको मन जित्न सफल भएको नगरप्रमुख शर्माको भनाइ छ ।  

‘अस्पतालमा डिजिटल एक्स–रे र भिडियो एक्स–रेजस्ता उपकरण उपलब्ध छन् भने अत्याधुनिक मेसिनबाट बिरामीको उपचार तथा अप्रेन गरिन्छ’, अस्पतालका मेडिकल डाइरेक्टर एवं बालरोग विशेषज्ञ डाक्टर कालेव बुढाले भन्नुभयो, ‘सिसेक्सन, एपेन्डेक्टोमी, हाडजोर्नी, पाइल्स र फिस्टुलाजस्ता रोगसँग सम्बन्धित शल्यक्रियाहरु हुँदै आइरहेका छन् ।’ 

डाक्टर बुढाका अनुसार हेमोलाइजर र बायोकेमिकल मेसिनको माध्यमबाट अस्पतालले एच बी काउण्ट, डब्ल्यू बीसी, आर बीसी, टीबी ल्याप्रोसी, सुगर, ब्लड ग्रुप, वाइडल टेस्ट, कालाजार, मलेरिया, एच. आईभी. एड्स, हेपाटाइटिस, गर्भवती परीक्षणलगायतका सेवा प्रदान गर्दै आइहेको छ । त्यसैगरी आँखा उपचार सेवा, दन्त उपचार सेवा र खोप सेवा पनि अस्पतालले सञ्चालन गर्दै आइरहेको छ ।  

अस्पतालले पाँच वर्षमुनिका बालबालिका अभिभावकलाई निःशुल्क उपचार तथा खानाको व्यवस्था सुरु गरेपछि आर्थिक रुपमा विपन्न नागरिकहरुलाई ठूलो राहत पुगेको छ । गएकाे वर्षको साउन महिनादेखि सुरु गरिएको व्यवस्थाअनुसार अस्पतालले बिरामी बालबालिकालाई दूध, लिटो, अण्डा र अभिभावकलाई खानाको व्यवस्था गरेको अस्पतालका सहायक प्रशासक पूर्णबहादुर थापाले बताउनुभयो । गएका वर्षमा अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जना बिरामी आउने गरेकोमा अहिले दैनिक सरदर दुई सयदेखि पाँच सयसम्म बिरामी सेवा लिन आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार समेत जितेको गरेको छ । नेदरल्याण्डको अन्तर्राष्ट्रिय म्यानेजमेन्ट एसोसिएशन नामक संस्थाले गएकाे वर्ष कजाकिस्तानमा गरेको सम्मेलनमा चौरजहारी अस्पतालले सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेबापत विश्वका ५५ देशलाई पछि पार्दै ‘गोल्डेन अवार्ड’ प्राप्त गरेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया