जडीबुटी - सूर्यविनायक सडकखण्डमा सार्वजनिक, निजी र मालवाहक ट्रकका लागि छुट्टाछुट्टै लेन

 फागुन १५, २०७६ बिहिबार १५:३४:३० | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - भक्तपुरको जडीबुटीदेखि सूर्यविनायक सडकखण्डमा गुड्ने सार्वजनिक,निजी तथा मालवाहक गाडीले छुट्टाछुट्टै लेन अनुशासन पालना गर्नुपर्ने भएको छ ।

बुधबारदेखि यस सडकखण्डमा रोकिएर चल्ने र नरोकि छिटो चल्ने गाडीले छुट्टाछुट्टै लेनको प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । प्रहरीका अनुसार टिप्पर, बस, भाडाका गाडी जस्ता रोकिएर चल्नुपर्ने सवारीले बायाँ र नरोकी छिटो चल्नुपर्ने गाडीले दायाँ साइडको लेनको प्रयोग गर्नुपर्ने छ । 

अन्तर्राष्ट्रिय मान्यताअनुरुप लेन अनुशासन पालनाको नियम लागू गरिएको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताउनुभयो । 

नियम लागू भएको सूर्यविनायक-जडिबुटी सडकखण्डमा नियम पालनाका लागि एक हप्ता अनुरोध गरिने र त्यसपछि पनि नमाने कारबाही र जरिबाना गरिने उहाँले बताउनुभयो । 

लेन मिच्ने चालकलाई पनि १ हजारदेखि १५ सयसम्म जरिबाना हुने पूर्व ट्राफिक प्रहरी इञ्चार्ज सिताराम हाछेथुले बताउनुभयो । ट्राफिक व्यवस्थापन गर्नुका साथै जाम नियन्त्रण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले ३ सदस्यीय सुधार सुझाव समिति गठन गरेको छ । 

समितिले कार्यस्थलको निरीक्षण, यातायात र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आवश्यक अध्ययन गरी सुधारका लागि कदम पनि चाल्ने ट्राफिक प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । 

सुधार सुझाव समितिमा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ, प्रहरी निरीक्षक (इन्सेपेक्टर) दामोदर सिलवाल र पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया