श्वेतपत्र जारी गरेर नतर्साउन सांसद जनार्दन शर्माको चेतावनी

 फागुन १५, २०७६ बिहिबार १५:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले श्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिनुभएको छ। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर श्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिनुभएको हो । 

शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भए पनि २०७४ कार्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भीर आपत्ति जनाउनुभयो । 

२०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उहाँले तर्साउन खोजिएको हो कि आत्मसमर्पण गराउन खोजिएको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूलाई तर्साउन खोजिएको भए पनि आफू असत्यको सामु नझुक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘मलाई तर्साउन खोजिएको हो? सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ र ? नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो, मलाई यसको जवाफ चाहिन्छ’ । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्योभन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशङ्का उब्जाएको बताउनुभयो । 

उहाँँले भन्नुभयो, ‘म कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीकाे जिम्मेवारीबाट म हटेको छु पत्रकार सम्मेलन गरेर। त्यसपछिबिना विभागीय जिम्मा थियो । मन्त्री नै नभएको नाम लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन ?’

श्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिए पनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उहाँले बताउनुभयो ।

त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भए पनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाइँको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताउनुभयो ।

‘म अचम्ममा परे यो श्वेतपत्र हो की अश्वेत पत्र हो । मैले कुनै गलत कुरा त बोलेको छैन तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधानभन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु ।’  

उहाँले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताउनुभयो । शर्माले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडी बढुनपर्ने माग समेत गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया