कान्ति लोकपथको ६० वर्षे कथा

 साउन ९, २०७५ बुधवार १७:१२:४८ | गोपाल गुरागाईं
unn.prixa.net

कलाकार मदनकृष्ण श्रेष्ठ, लेखक नारायण वाग्ले, रंगकर्मी सुनील पोखरेल, द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती, प्राध्यापक लोकराज बराल र स्वास्थकर्मी डा. अरुणा उप्रेतीको नाम धेरैलाई कण्ठ छ । संयोग के भने यी सबै हस्तीहरु हरेक दिन कुनै न कुनै समय एउटै सडकमा हिँडिरहेका हुन्छन् ।

विदेशमा व्यापार व्यवसाय गरेर दाम कमाएका व्यापारी, सरकारका सचिव, मन्त्री भैसकेका र भैरहेका व्यक्ति, कर्पाेरेट दुनियाँका सीईओ र भावी सीईओहरु पनि यही सडक हुँदै दक्षिण ललितपुरका सुनाकोठी, ठेचो र चापागाउँ आउजाउ गर्छन् । यी सबै मान्छे हरेक दिन ४-५ किलोमिटर यात्रा गरेर चक्रपथभित्र पस्छन् र बेलुका त्यति नै दूरी तय गरी घर फर्किन्छन् । 

कार्यालय जाने र फर्किन धेरैले आ–आफ्नै साधन प्रयोग गर्छन् र गाडीका सिसा बन्द गरेर हिँड्छन् । यसरी धुँवा र धुलोबाट बचेर हिँड्नेमा पहिले प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहाल र उहाँकी पत्नी मन्त्री बिना मगर पनि थिए । छोरा बुहारी र नातिलाई भेट्न कहिलेकाँही प्रचण्ड पनि यो सडकमा आउजाउ गर्थे । मन्त्री बिना मगरलाई अहिले पनि बेला–बेला यही सडकमा देखिन्छ । तर यो सडकमा हिँड्ने नब्बे प्रतिशत यात्रुलाई हिलो, धुलो र धुँवाबाट जोगिएर आफ्नै गाडीमा हिड्ने सुविधा छैन । उनीहरुको दिन धुलो, धुँवा र हिलोको सास्तीबाट सुरु हुन्छ र त्यसैबाट दिनको अन्त हुन्छ ।

भीआईपी हिँड्ने कान्ति लाेकपथको कन्तविजोग

पटक–पटक नाम कहलिएका मानिस र उनीहरुले यात्रा गर्ने ४-५ किलोमिटरको कुरा सुन्दा दिक्क लाग्यो भने मलाई माफ गर्नोस् । किनभने यी तिनै मानिस हुन् जसले नेपालमा समृद्धिको सपना बाँडेका छन् । यी ति मानिस पनि हुन् जो समृद्धि के हो र समृद्धिको सपना के हो भन्ने विश्लेषण पनि गर्छन् । त्यसैले यो सडक नेपालमा समृद्धिको सपना देख्ने, सपना बाँड्ने र समृद्धिलाई दिनदिनै भोग्ने मानिसको कथा पनि हो ।

तर यो कथा दिनदिनै सडक नाप्ने ती मान्छेको मात्र होइन, किनभने यी मानिस जहाँ हिँडिरहेका छन्, त्यो हेटौडा र काठमाडौंलाई जोड्ने सबैभन्दा छोटो सडक कान्ति लोकपथको पहिलो खण्ड हो । र यो कथा ६० वर्ष पुरानो कान्ति लोकपथको हो । कान्ति लोकपथ ललितपुरको सातदोबाटोबाट सुरु हुन्छ र सुनाकोठी, चापागाउँ, टीकाभैरव हुँदै वाग्मती तरेर मकवानपुरको ठिंगन र मकवानपुर गढी हुँदै हेटौंडाको बुद्धचोक पुग्छ । 

कान्ति लोकपथ सुरु हुने यो चार-पाँच किलोमिटर यात्रा आफ्नै गाडीमा तय गर्ने मानिसलाई पहिले कम्तीमा आधा घण्टा र बढीमा दुई घण्टासम्म लाग्थ्यो । तर अहिले न गाडीवाला समयमा घर पुग्छन्, न त पैदल यात्रु नै । कारण हो कान्ति लोकपथको निर्माणमा भैरहेको ठेकेदारको लापर्वाही अनि सरकारको लाचारी र थेत्तरोपन । 

सोह्र सालमै राजा महेन्द्रको जीप यात्रा

कान्ति लोकपथ आजभन्दा ६२ वर्षअघि २०१३ सालमै बन्न थालको थियो । २०१४ साल माघ ९ गते राजा महेन्द्रले यो सडकको उद्घाटन गरेका थिए । सडकको ट्रयाक खुलेपछि २०१६ सालमा राजा महेन्द्र कान्ति लोकपथमा आफै गाडी हाँकेर हेटौडा पुगेको देख्ने मानिस मकवानपुरको ठिंगनमा अहिले पनि भेटिन्छन् । 

२०१६ साल मै बने पनि वाग्मतीमा पुल नभएका कारण र बाटो बिग्रिएका कारण यो सडक नियमित चलेन । समयसँगै धेरैले बाटो बिर्सिए । तर उहिल्यै बाटो बनेको कथा चाहिँ धेरैले सम्झिराखे । सरकारी रेकर्डमा पनि यो बाटोको शिलान्यास, उद्घाटन र ट्रयाक खुलेको रेकर्ड सधैँ बिरामीको धुकधुकी झैँ चलिरह्यो । कान्ति लोकपथको कथा मान्छेको मन र सरकारी कागज दुवैमा मरेन । 

२०५५ सालपछि कान्ति लाेकपथको खोजी

सडक बन्द भएको ४० वर्षपछि २०५५ सालदेखि फेरि यो लोकमार्गको चर्चा हुन थाल्यो । काठमाडौंलाई हेटाैंडासम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा यो सडकलाई सबैभन्दा छोटो ठानियोे । त्यसपछि कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत योजना बनाउने प्रस्ताव अघि सार्‍यो । 

अनुदान लिने कि नलिने निर्णय गर्न सरकारलाई एक वर्ष लाग्यो । अनि बल्ल सुरु भयो २०५६ सालमा सडकको विस्तृत परियोजना डिजाइनको काम । २०५९ सालमा सडक निर्माणको विस्तृत योजना तयार हुँदा पनि बागमति नदीमा पुल थिएन । तर १० वर्षपछि ६९ सालमा वाग्मती नदीमा काम चलाउ पुल बन्यो । 

सडक निर्माण गर्न विस्तृत योेजना बनेको ७ वर्ष र वाग्मतीमा पुल बन्नु ३ वर्ष बाकी छदाँ बल्ल २०६६ सालमा सरकारले कान्ति लोकपथ बनाउने निर्णय गर्‍यो । अथवा एउटा बनिसकेको सडक फेरि बनाउने निर्णयमा पुग्न नेपालले ४० वटा वर्ष पर्खनुपर्‍यो ।

सडक निर्माण त हुन थाल्यो । तर ५ वर्षसम्म निर्माणका नाममा वर्षा लागेपछि पहाड काट्ने र बर्सेनि ५० लाख सरकारी रकम खर्च गर्नेभन्दा अरु काम भएन । सडक बनाउने खेलो फड्कोमा झण्डै ३ करोड रकम सकियो । 

९१ किलोमिटरमा २१ ठेकेदार

रकम खर्च हुने, तर सडक नबन्ने देखेपछि यो सडकलाई सरकारले २०७१ सालमा उच्च प्राथमिकता (पी १) मा राखेर निर्माण कार्य अघि बढाउन निर्णय गर्‍यो । काठमाडाैंलाई हेटौडासित जोड्ने ९१ किलोमिटर सडक निर्माण गर्ने काम २०७१ सालमा ठेकेदारहरुलाई दिइयो । अथवा एकपल्ट बनेको ५५ वर्षपछि कान्ति लोकपथ दोस्रो पल्ट बन्ने पक्का भयो । 

उच्च प्राथमिकताको सडकमा उक्लेपछि कान्ति लोकपथको मकवानपुरमा ५१ र ललितपुरको २८ गरी ७९ किलोमिटर सडक कान्ति लोकपथ निर्माण आयोजनाको रेखदेखमा बन्ने भयो । सातदोबाटोदेखि टीकाभैरवसम्मको बाँकी १२ किलोमिटर सडक काठमाडौं सडक विस्तार योजनाको रेखदेखमा बन्ने भयो । विभिन्न सातवटा कम्पनीले ५० करोड रुपैयाँमा १२ किलोमिटर सडक बनाउन ठेक्का पाए । ७९ किलोमिटर सडक निर्माण गर्न विभिन्न १४ वटा कम्पनीलाई ठेक्का दिइयो । 

कान्ति लोकपथ सरकारको पहिलो प्राथमिकतामा परेपछि सुनाकोठी, ठेचो, चापागाउँ र दक्षिणी ललितपुरमा ठूलै उत्साह देखियो । ठेक्का पाउनासाथ ठाउँठाउँमा ठेकेदारहरुले काम पनि थाले । ठेक्का हात पर्नासाथ उनीहरुले परिचालन खर्च भनेर ५० लाखका दरले रकम पाएका थिए । नयाँ सडक बनाउन पुरानो साँघुरो सडक भत्काउनै पथ्र्यो । २०७१ सालको अन्त र ७२ सालको सुरुमा ठेकेदारहरुले बडो उत्साहपूर्वक टीकाभैरवदेखि सातदोबाटोसम्म ठाउँ–ठाउँमा सडक भत्काए ।

यसै क्रममा सातदोबाटोको चापागाउँ चोकदेखिको सडक पनि भत्काइयो । सडक भत्कनु र भूइँचालो आउनु एकैबेला परिदियो । भूइँचालोपछि ठेकेदारहरु हराए । सडक भत्केको भत्क्यै रह्यो । भत्केको सडकमा गाडी चल्न सक्ने कुरो भएन । कति गाडीहरु नख्खीपोटका गल्लीतिरबाट चक्रपथ जान थाले । कति गाडी ठेचो घुमेर धापाखेलको बाटो हुँदै सातदोबाटो निस्कन थाले । केही सवारी साधन चाहिँ भत्केको सडकमा घिस्रिन बाध्य भए । पैदल यात्रु र सार्वजनिक सवारीको दुर्गति धुलो, धुँवा र हिलोका कारण बयान गर्न नसकिने खालको भयो । स्थानीयबासिन्दाका घर धुलो, धुँवा र हिलोले पुरिए ।

प्रचण्डसित हारगुहार 

सातदोबाटोदेखि भत्केको सडक बन्छ भन्ने आश गर्दागर्दै ७२ साल बित्यो । तर सडक बन्ने सुरसार देखिएन । भत्केको सडक छेउ वरपर बाक्लो बस्ती छ । एकापट्टि नख्खीपोट र अर्कोपट्टि खुमलटार । 

यी दुवैतिरका बस्तीमा नेपालका धेरै हस्तीहरुको बसोबास छ । तर धुलो र धुँवाले हस्तीहरुको बस्तीमा पनि बाक्लो गस्ती गरिरह्यो । त्यसपछि दुवैतिरका बासिन्दा सडकमा निस्के । नारा जुलुस गरे । धुले सडकलाई बन्द गरिदिए । सडक विभाग र मन्त्रालयमा डेलिगेसन गए । जानुपर्ने र भन्नु पर्ने सबै ठाउँमा पुगेर दबाब दिए । गएका ठाउँबाट पटक–पटक आश्वासन पाए र सडक बन्ने प्रतिक्षा गरे । तर पनि कान्ति लोकपथको मुखमा पर्ने सातदोबाटोको सडक बनेन । ७३ साल र ७४ सालमा पटक–पटक यो सडकमा नारा लाग्यो, जुलुस निस्के, सडक बन्द भयो । तर सडक अहिले पनि जस्ताको तस्तै छ । 

२०७४ सालमा स्थानीय चुनाव भयो । निर्वाचित प्रतिनिधिहरु पनि सडक पीडित थिए । उनीहरुले पनि दबाब बढाए । तर भत्केको सडक जस्ताको तस्तै पसारिएर लडिरह्यो । त्यसमा खाल्डा थप्दै र भएका खाल्डा फराकिला बनाउँदै गाडी कुदिरहे । नाक र मुख बन्द गरेर धुलो र धुँवाको कुइरीमण्डलमा बाध्यताले पैदल यात्रा गर्नेहरु हिँडिरहे । 

स्थानीय निर्वाचनपछि ७४ को मंसिरमा संघीय र प्रदेशसभाको चुनाव भयो । वाम गठबन्धनले जित्यो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को मूल नारा अघि सारेको वाम गठबन्धनले जितेपछि अब त केही होला (अथवा सडक बन्ला) भन्ने आश अरु बलियो भयो । पुत्रशोकपछि गएको वर्ष प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरे । दुर्भाग्य भनौ कि संयोग, प्रचण्डले बिहान बेलुका आउजाउ गर्ने सडक पनि कान्ति लोकपथको सातदोबाटोबाटै सुरु हुन्थ्यो, हुन्छ ।

सत्तारुढ दलका अध्यक्ष प्रचण्ड खुमलटार बस्न आएपछि स्थानीयको मनमा अब त प्रचण्डले ठेकेदारलाई बोलाउलान् र सडक बनाउन दबाब देलान् भन्ने आश पलायो । तर भत्केको सडक बनाउने सुरसार देखिएन । त्यसपछि स्थानीय बासिन्दाले प्रचण्ड निवास पुगेर ठेकेदारलाई काम लगाई दिन हारगुहार गरे । प्रचण्डले कुरा सुने । भेट्न गएका मानिसलाई आश्वासन दिएर फर्काए । तर पनि सडक टाल्न र बनाउन ठेकेदार आएनन् । प्रचण्डले ठेकेदारलाई भनेनन् वा प्रचण्डले भन्दा पनि ठेकेदारले टेरेनन् भन्ने कुरा चाहिँ अहिलेसम्म प्रचण्ड बाहेक अरु कसैलाई थाहा छैन । 

प्रचण्डलाई हारगुहार गर्दा पनि पार नलागेपछि २०७४ साल फागुनमा स्थानीय बासिन्दाले कान्ति लोकपथको मुख, सातदोबाटोको चापागाउँ चोकमा धर्ना दिने अभियान थाले । ठाउँ–ठाउँमा टायर बाले । भत्केको सडकमा ल्याएर ढुंगामुढा राखे । सडक बन्द गरिदिए । झण्डै एकसाता आवतजावत ठप्पै भयो । झण्डै ३ दिनसम्म यो विरोध आमसञ्चार माध्यम र सामाजिक मिडियामा लगातार शीर्षक बनेर छायो । विरोध बढ्दै र फैलिँदै गयो । 

आन्दोलन बढ्दै गएपछि प्रहरीले कान्ति लोकपथको सातदोबाटोमा सडक बनाउने ठेक्का पाएको कम्पनीको ठेकेदारलाई स्थानीय बासिन्दाका सामुन्ने खडा गर्‍यो । सडक विभागलाई साक्षी राखेर दुवै पक्षबीच वार्ता भयो । दबाब थाम्न नसकेपछि ठेकेदारले झण्डै ४ सय मिटर सडक पुरपार पारेर कालोपत्र लगाउन थाल्यो । नभन्दै सातदोबाटोको चापागाउँ चोकबाट टुटेपानीसम्मको ४ सय मिटर सडक एकसातामा कालोपत्रे पनि भयो । त्यसपछि अब त सडक बन्ने भो भन्ने स्थानीय वासिन्दाको आश फेरि पलायो । ठेकेदारले २०७५ सालको वैशाख १५ गतेभित्र कालोपत्र गरिसक्ने शर्तमा स्थानीय बासिन्दाले आन्दोलन रोके । 

ठेकेदारले त्यसपछि केही ट्रक गिट्टी झारेर सडक किनारमा थुपार्‍यो । ओली सरकार बन्नासाथ काम हुन थालेपछि ओली सरकारप्रति स्थानीय बासिन्दाको आशा अरु बलियो भयो । तर त्यस घटनाबाट सबैभन्दा उत्साही यातायात मन्त्री रघुवीर महासेठ देखिए । महासेठले चितवनमा पत्रकार सम्मेलन नै गरेर २०७५ सालको वैशाख १५ गतेभित्र सबै मुख्य राजमार्गका खाल्डा पुरिसक्ने घोषणा गरे । 

महासेठ अहिले पनि त्यही मन्त्रालयमा मन्त्री छन् । तर, खाल्डा नभएका सडक अब देख्नै नपाउने गरी लमतन्न भएर फैलिएका छन् । महासेठले खाल्डा पुरिसक्ने भनेको वैशाख १५ गते आएर गएको पनि दुई महिना बितिसक्यो । वैशाख १५ गतेभित्र सडक बनाउने भनेर स्थानीय बासिन्दाको आक्रोशबाट बच्दै हिँडेको ठेकेदार अहिलेसम्म सातदोबाटो फर्केको छैन । अहिले अवस्था के छ भने न खाल्डा पुरिए, न सडक निर्माण भयो । बरु कान्ति लोकपथ निर्माणको ठेक्का पाएको अर्को ठेकेदारले नाली खोल्दै लगेर ढल सडकमा निकालिदियो । पहिले खाल्डा भएको सडकमा अब खोलो बग्न थाल्यो । सडकमा पसेको नालीको पानीले सडक कोतर्दै लग्यो । नतिजा, खाल्डाहरु अहिले भौडीमा रुपान्तरण भएका छन् । 

कान्ति लोकपथ निर्माणको पछिल्लो ठेक्का सुरु भएको चार वर्ष भयो । ९१ किलोमिटर सडक बनाउन २०७१ सालदेखि २१ वटा कम्पनीले ठाउँ–ठाउँमा काम गरिरहेका छन् । ठेक्का लिने कम्पनीले कबोल अनुसार काम गरेका भए गएको असारमै यो सडकबाट गाडीहरु हेटाैंडा–काठमाडौ गरिरहेको देख्न पाइन्थ्यो । अहिले ठेक्काको म्याद एक वर्ष फेरि थपिएको छ ।

थपिएको म्याद अनुसार अबको ११ महिना अथवा आउँदो असारमा कान्ति लोकपथका सबै खण्ड निर्माण गरिसक्नु पर्छ । तर अबका ११ महिनामा ७१ किलोमिटर सडक बन्छ भन्दा मानिसहरु हाँस्छन् मात्रै । बितेका ४ वर्षमा ९१ किलोमिटर मध्ये अहिलेसम्म टुक्राटुक्रा गरी जम्मा २० किलोमिटर सडक मात्र कालोपत्र भएको छ । बाँकी ७१ किलोमिटर सडक खनेर असरल्ल पार्ने बाहेक सडक निर्माणको थुप्रै चरणको काम लथालिंग अवस्थामा छ । 

एक अर्ब २१ करोडको बजेट, २ अर्ब ६१ करोड खर्च

२०६६ सालमा फेरि बनाउन सुरु गर्दा कान्ति लोकपथको कुल लागत १ अर्ब २१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर समय लम्बिँदा सडक आयोजनाको ७९ किलोमिटर खण्डको बजेट नै बढ्दै गएर अहिलेसम्म १ अर्ब ६६ करोड पुगिसकेको छ । १ अर्ब ६६ करोडमध्ये १ अर्ब ५७ करोड रकम त अहिलेसम्म खर्च नै भैसकेको छ । 

थप अचम्म र अराजकता के छ भने, कान्ति लोकपथ निर्माण आयोजनाले ७९ किलोमिटर सडक बनाउने विभिन्न १४ ठेकेदार कम्पनीसित २ अर्ब ११ करोड ९६ लाखको बहुवर्षीय ठेक्का सम्झौता गरेको छ । सम्झौतापछि सडकको लागत कम्तीमा २ अर्ब ६१ करोड पुगिसकेको छ । तर सम्झौता भैसकेको २ अर्ब ११ करोड रकमले पनि ७९ किलोमिटर सडक कालोपत्रे हुने संभावना छैन । 

काठमाडौ सडक विस्तार योजनाले ललितपुरको सातदोबाटोदेखि टीकाभैरवसम्म १२ किलोमिटर सडक बनाउन सात वटा ठेकेदार कम्पनीलाई ५० करोड रुपैयाँको ठेक्का दिएको छ । तर, यो खण्डमा एक किलोमिटर सडक पनि बनेको छैन । काम हुन थालेपछि यो खण्डमा पनि सडकको लागत बढ्नेछ । टीकाभैरव–हेटौडा खण्डको ७९ किलोमिटर सडक बनाउन ठेक्का सम्झौता भैसकेको रकम २ अर्ब ११ करोड रुपैयाँ र सातदोबाटो देखि टीकाभैरवसम्मको १२ किलोमिटर सडक बनाउन सम्झौता भैसकेको ५० करोड रुपैयाँ जोड्दा अहिले नै यो सडकको लागत २ अर्ब ६१ करोड पुगिसकेको छ । यो रकम अनुमानित लागतको दोब्बर भन्दा धेरै हो । तर बजेटको दोब्बर रकम खर्च हुँदा पनि कान्ति लोकपथ निर्माणको काम अर्को असारमा सकिने सम्भावना चाहिँ शून्य बराबर छ । 

काठमाडौ देशको राजधानी हो र हेटौंडा अहिले राजधानी रहेको प्रदेश ३ को राजधानी भएको छ । राणाकालमा मोटर बाटो नहुँदा पनि काठमाडाैंका मानिस हेटौंडा हुँदै तराई झर्थे । उपत्यका बाहिरका मानिस काठमाडौं (त्यो बेलाको नेपाल) आउन हेटौडा हुँदै भिमफेदीको उकालो चढ्थे । तर अहिले हेटौंडा र काठमाडाैंलाई जोड्ने कम्तीमा ८४ किलोमिटर र बढीमा २ सय १७ किलोमिटर लामा ४ वटा सडक छन् । तर यी दुई शहरलाई जोड्ने ४ वटै सडक अभरिला छन् । कुनै सडकबाट आउजाउ गर्दा पनि भनेको समयमा एक शहरबाट अर्को शहरमा पुगिँदैन ।

अब अरु कति वर्ष लाग्छ ?

सबैभन्दा छोटो र भरपर्दो ठानेर १६ सालमा बनिसकेको कान्ति लोकपथ ५५ वर्षपछि फेरि निर्माण गर्न थालिएको १० वर्ष पूरा भैसक्यो । प्राथमिकता दिएर काम थालेकै पनि अहिले त ५ वर्ष पुगि सक्यो । सरदर ८ टन भारी बोकेका मालवाहक गाडी ओहोर–दोहोर गर्ने गरी बन्दै गरेको यो सडक खुलेपछि देश र प्रदेशका राजधानी ३ घण्टामै जोडिनेछन् । त्यसपछि आवतजावत बढ्नेछ । उपत्यकाको बसोबासमा परेको चाप घट्नेछ । डिजेल, पेट्रोलमा हुने खर्च र ढुवानी भाडा घट्नेछ । भन्न परेन, यो सडकले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्नेछ । र, वाम सरकारले भन्ने गरेको समृद्धिको एउटा सपनाले दुईवटा शहरलाई जोड्नेछ ।  

तर बिडम्वना कान्ति लोकपथ शुरु हुने ठाउँ सातदोबाटो हुँदै हरेक दिन आउजाउ गर्ने देशका नीति निर्माता, मन्त्री, नेता र सार्वजनिक जीवनमा ख्याति कमाएका धेरै मानिसहरु कान्ति लोकपथ सुरु हुने खण्डको सडकमा दिनदिनै जोल्टिङ खान पर्दा पनि चुपचाप छन् । 

प्रचण्ड अहिले पनि त्यही सडकका खाल्डा र भौडीमा उफारिँदै आफ्नो खुमलटार निवास आउजाउ गर्छन् । उनी चढ्ने गाडीको सिसा कालो भएर उनले यो सडकको दूर्दशा नदेखेका हुन् कि उनी पनि ठेकेदार जस्तै थेत्तरो भएका हुन्, खुट्याउन नसेकेर स्थानीय बासिन्दाको हैरानी बढेको छ । कान्ति लोकपथको यो भागमा हरेक दिन जस्तो नेपालको राष्ट्रिय झण्डा फर्फराउँदै प्रचण्डलाई भेटेर फर्किरहेका मन्त्रीका गाडी खाल्डा र भौडी छल्दै पल्टनबाजी खाएको देखिन्छ । मन्त्रीहरु चढेको गाडीको सिसा पारदर्शी भएकाले झण्डावाल गाडीमा उपप्रधान मन्त्री इश्वर पोखरेल र मन्त्रीहरु लिलामणि पोखरेल, बिना मगर, वर्षमान पुन र चक्रपाणि खनालका जोल्टिंग खादै गरेका अनुहारहरु देखिन्छन् । 

सडक बिग्रेको र बनाउन ठेक्का दिएको तथ्यप्रति यस सडकमा यात्रा गर्ने सत्तारुढ दलका एक प्रमुख र दुई तिहाई बहुमतको सरकारका मन्त्रीहरु पूरै जानकार छन् । किनभने कान्ति लोकपथको महत्वको विषयमा र यो सडकले यात्रामा खर्च हुने समय, भाडा र भाउ घटाएर नेपालमा ठूलै समृद्धि ल्याउने विषयमा उनीहरुले धेरैपल्ट भाषण गरेका छन् । 

तर, ६१ वर्ष अघिदेखि यस भेगका मानिसको मनमा जन्मेको समृद्धिको मुख्य प्रश्न चाहिँ बाकी नै छ, ‘ख्याल ख्यालमा भैरहेको कान्ति लोकपथको निर्माण कालोपत्रे भएर सकिन चाहिँ अब अरु कति वर्ष लाग्छ ?’

कान्ति लोकपथ :  तथ्य र तिथिमिति

-बेदानन्द जोशी

  • काठमाडौंलाई तराईसँग जोड्ने उद्देश्यले वि.सं. २०१३ सालमा राजा महेन्द्रले कान्ति राजमार्गको निर्माण कार्य नेपाली सेनालाई सुम्पेको ।
  • वि.सं.२०१४ माघ ९ गते कान्ति राजमार्गको उद्घाटन भएको । 
  • वि.सं.२०१६ साल जेठ महिनामा ट्रयाक खुलेपछि राजा महेन्द्र आफै गाडी हाँकेर काठमाडौंबाट हेटौडा गएको ।
  • वि.सं. २०५६ मा दक्षिण कोरिया सरकारले ‘डिजाइन’ निशुल्क र निर्माण एकदमै थोरै अर्थात ‘सफ्ट लोन’ मा गरिदिने भनेको ।
  •  वि.सं. २०५९ सालमा यो सडकलाई वैकल्पिक रुपमा विकास गर्न कोरिया सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको ।
  •  वि.सं.२०६९ सालको पुस तेस्रो साता वाग्मती पुल निर्माण गरिएको ।
  •  यो सडकको आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०६५-६६ बाट सडक निर्माण सुरु ।  
  • २०६५-६६ को योजना अनुरुप अनुमानित लागत बजेट एक अर्ब २१ करोड ९१ लाख १० हजार
  • वि.सं. २०७१ सालपछि मात्र सरकारको यस योजनालाई पी.१ प्राथमिकतामा राखिएको । 
  •  २ अर्ब ११ करोड ९६ लाखको बहुवर्षीय ठेक्का रकम अन्तर्गत आ.व. २०७०-७१ बाट १४ वटा ठेक्का सञ्चालनमा छन ( एउटा पुरानो ठेक्का सम्पन्न भइसक्यो ) ।
  •  अहिले कार्यरत ठेकेदार कम्पनीहरु : महालक्ष्मी सिंह एण्ड ब्रदर्स जेभी, एससीसी मोतीदान जेभी, मोतीदान कञ्चनजङ्घा जेभी, कन्चनजङ्घा गोल्डनगुट जेभी, गोल्डनगुट पीएस जेभी, कन्टेक प्रालि, कन्टेक बानियाँ जेभी, दिवा हनुमान जेभी, अमर निर्माण प्रालि, श्रेष्ठ मोतीदान बानिया जेभी, दिवा एमके हनुमान जेभी, विरुवा एसएल सुनकोसी जेभी, एसबीए निर्माण सेवा ।
  • आ.व.२०७०-७१ देखि २०७५को असार मसान्तसम्म विनियोजित जम्मा रकम एक अर्ब ६६ करोड नब्बे लाख र खर्च भएको रकम एक अर्ब ५७ करोड ६७ लाख ।


 

अन्तिम अपडेट: असोज ५, २०७५

गोपाल गुरागाईं

गोपाल गुरागाईं ३५ वर्षदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। उहाँलाई ट्विटरमा भेट्न सकिन्छ।

2 Comments

  • Ravi Dahal

    July 28, 2018, 10:27 a.m.

    यो डिटेल स्टोरीका लागि गोपाल सरलाई धन्यवाद / लेख कै कारण सायद लाज भएर हिजो भौतिक निर्माण मन्त्री सातदोबाटोमा पाइला टेक्न पुगे / हेरौं सडकको बेहाल कहिले सम्ममा सुधार हुनेछ /

  • Hari Babu Bhattarai

    July 26, 2018, 12:08 p.m.

    यो लेखले वास्तविकता लाई उजागर गरेको छ ।लेखक धन्यवादका पात्र हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया