यस्तासँग के हात मिलाउनु !

 फागुन १७, २०७६ शनिबार ८:१९:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोनाले तर्साउनुभन्दा पहिलेदेखि नै डाक्टरले तर्साउँदै आएका हुन्–हात नमिलाउनु, नमस्कार गर्नु । डाक्टरले भनेपछि मान्नु पर्यो । अब कसैसित हात मिलाउन्न भनेर गोजीमा हात हालेर हिँड्दै र उभिंदै गर्दा थरिथरीका मान्छे भेट हुन्छ । नचाहँदा नचाहँदै पनि उसित हात मिलाउनुपर्छ ।

दाहिने हातले आनन्दसँग नाक कोट्याउँदै आएको साथी भेट हुने बित्तिकै हात पसार्छ । नाक कोट्याएर आईरहेको यस्ता फोहरीसँग के हात मिलाउनु भनेर पन्छिन खोज्यो, उसले च्याप्प हात समातेर औपचारिकता पूरा गर्छ । छीःछीः घिन लागेर आउँछ । अब यो हात के गर्ने ? ऊ ङिच्च हाँसेर बसेको छ, आफूलाई सिकसिक भएर खप्न भएको छैन । 

आफ्नो पारो तातेर आएको छ । तर के गर्नु । न चिथोर्न मिल्ने, न कोपर्न । उससँग पनि औपचारिक प्रतिकृया टोपलेर बाथरुममा पस्छु र घिन मानी मानी हात धुन्छु । तर फेरि सम्झन्छु पिसाब गरेपछि हात नधोई बाहिर निस्कँदा मैले पनि यसैगरी कतिजनासँग हात मिलाएको छु । यो सम्झेर अहिले चाहिँ सन्तोष लाग्छ ।

अर्काे एउटा साथी छ, जुनसुकै बेला पनि ओठको दुईतिर सूर्ति चेपेर रस लिइरहन्छ । घण्टाघण्टामा मुखमित्र औंला लगेर थपक्क सूर्ति निकाल्छ । सूर्तिलाई कोठाकै कुनातिर मिल्काएर हात भित्तामा पुस्छ । अनि जाने बेला त्यही हात यता पसारेर समाउँछ र बिदाईको औपचारिकता पूरा गर्छ । एकछिन पछि म त्यही हातले च्याप्प समोसा समाउँछु र मुख मिठ्याउँदै खान्छु ।

ङिच्च हाँस्छन् । ‘है त ? सम्झनुभयो नि ? फेरि यताउता होला नि ?’ भनेर कहिले आग्रह त कहिले चेतावनीको भाका लगाएर हिँड्छन् । दुनियासँग मिलाउँदै आएको उसको हात नचाहँदा नचाहँदै पनि कम्तीमा दुई पटक त मिलाउनै पर्ने । पहिले भेट हुँदा, पछि बिदाई हुँदा । कतिले त आफ्नो कुरा नसकिंदासम्म हात समाउन छोड्दैन । कन्सिरी तातेर आए पनि के गर्ने ?

मुखभित्रै औंला घुसारेर सूर्ति झिक्ने, नाक कोट्याउँदै र औंला चुस्तै हिँड्ने, अनि भर्खर बाथरुमबाट बाहिर निस्केकासँग के हात मिलाउनु भन्यो, नमिलाई सुख पाईंदैन । यस्ता फोहरीसँग न मैले हात मिलाउन छोडेको छु, न म फोहोरीसँग हात मिलाउनबाट अरुले मुक्ति पाएका छन् ।

अझ चुनावको बेला त यो हातले कहिले मुक्ति पाउँदैन । कलेज पढ्दा स्ववियुको चुनावताका धेरैसँग हात मिलाइयो । पत्रकारको चुनाव हुँदा यसैगरी हात मिलाउने बढ्छन् । आमचुनाव हुँदा चिनेकाभन्दा नचिनेकासँग बढी हात मिलाउनुपर्छ । 

पहिले मुन्टो बटारेर हिँड्नेहरु चुनावताका खोजीखोजी हात मिलाउन आइपुग्छन् । हात जोडेर हात पसार्छन् । ङिच्च हाँस्छन् । ‘है त ? सम्झनुभयो नि ? फेरि यताउता होला नि ?’ भनेर कहिले आग्रह त कहिले चेतावनीको भाका लगाएर हिँड्छन् । दुनियासँग मिलाउँदै आएको उसको हात नचाहँदा नचाहँदै पनि कम्तीमा दुई पटक त मिलाउनै पर्ने । पहिले भेट हुँदा, पछि बिदाई हुँदा । कतिले त आफ्नो कुरा नसकिंदासम्म हात समाउन छोड्दैन । कन्सिरी तातेर आए पनि के गर्ने ?

कसैको हात मिलाई त कस्तो कडा ? कम्रेडहरुहरुले हात मिलाउन खोज्दा अलि होशियारी हुनुपर्ने । आफ्नो सिन्को जस्तो हात छ । कसैसँग हात मिलाउँदा यसो तेर्साएर टार्दै गरेको । तर कम्रेडहरुको त सिन्को जस्तो हात पनि कति कडा ! भेट हुनेबित्तिकै च्याप्प मेरो हात समात्छन् र मुन्टो हल्लाउँदै बेस्सरी झट्कार्छन् । क्रान्तिकारी हल्लाईले कतिपटक हातले सास्ती खेपिसकेको छ । 

फेरि हात मिलाउन कोसँग चाहिँ हुने कोसँग नहुने अलमल हुन्छ । आफूले मान्नुपर्ने ठूलाबडासँग के हात मिलाउने भनेर तर्किन खोज्यो, उल्टो भेट हुनेबित्तिकै उसले नै हात तेसार्छ । त्यसमाथि महिलाहरुसँग हात मिलाउन साह्रै अप्ठ्यारो लाग्ने । तर उनीहरु पनि पहिले नै हात पसार्दै आउँछन् ।

जतिसुकै अप्ठ्यारो र घिन मानेर के गर्नु ? जान्ने भएदेखि अहिलेसम्म कतिसँग हात मिलाईयो ! आफूले कतिको जुठो र फोहोर खाईयो, कति अरुलाई खुवाईयो ! कतिको रोग ग्रहण गरियो, कतिलाई आफ्नो रोग सारियो ! हिसाब गरेर के साध्ये । एकपटक आउनुस्, तपाईं र म पनि हात मिलाउँ । कोरोना र अरु सरुवा रोगको स्वागत गरौं । विश्वका अरु देशको हाराहारीमा आफ्नो स्तर पुर्याउँ ।

अन्तिम अपडेट: बैशाख २५, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया