महिला राष्ट्रिय लिग फुटबल : एपीएफले काठमाडौंलाई हान्यो १० गोल, सावित्रा एक्लैको ५ गोल

 साउन ९, २०७५ बुधबार १८:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा एपीएफले काठमाडौंलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदा रौतहट जिल्ला फुटबल संघले नेपाल पुलिसलाई पराजित गरेको छ ।
 
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफलाई फराकिलो जित दिलाउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । यस्तै अनिता केसीले ह्याट्रिक पूरा गर्दा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।
 
सावित्राले खेलको ३२औं, ५१औं, ६१औं, ८४औं र ८५औं मिनेटमा गोल गर्दा अनिता केसीले खेलको दोस्रो, बीसौं र तीसौं मिनेटमा गोल गरेकी थिइन् ।
 
यो जितसँगै एपीएफले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । काठमाडौंको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसंग पराजित भएको थियो ।
 
त्यस्तै रौतहटले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । रौतहटले विभागीय टोली नेपाल पुलिस क्लबलाई १ – ० ले हरायो । रौतहटलाई जित दिलाउन अस्मिता वैद्यले निर्णायक गोल गरिन् । रौतहटलाई जित दिलाउन अस्मिताले खेलको १२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । योसँगै रौतहटले लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
 
रौतहटले दुई खेलबाट ६ अंक जोडेको छ । रौतहटले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो । पुलिसको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया