अदालतलाई नटेरेको आरोपमा प्रहरी महानिरीक्षकसहित ४ जनाविरुद्ध मुद्दा दायर हुने

 फागुन १७, २०७६ शनिबार १४:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रहरी महानिरीक्षकसहित ४ जना प्रहरीविरुद्ध अवहेलनाको आरोपमा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । 

बन्दी प्रत्यक्षीकरणको आदेश पाएर छुटेका विप्लव समूहका ३ जना कार्यकर्तालाई पटक-पटक अदालत परिसरबाट पक्राउ गरेर अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले प्रहरी महानिरीक्षकसहित ४ जनाविरुद्ध मुद्दा चलाउन आदेश दिएको हो । 

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरू भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई फागुन ५ गते अदालतले छोड्न आदेश दिँदा पनि फेरि पक्राउ गरेर हिरासतमा लिएको भन्दै प्रहरीविरुद्ध भीमप्रसाद शर्माले रिट दर्ता गर्नुभएको थियो । 

शर्माको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अदालतको मानहानी गरेकोले प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुखविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न सर्वोच्चका रजिष्ट्रारको नाममा आदेश दिएको हो । 

प्रहरीले अदालतको आदेशलाई अटेर गरेको र यो ज्यादै अशोभनीय भएको सर्वोच्चको ठहर छ । सर्वोच्चको आदेशअनुसार रजिष्ट्रारले प्रहरी महानिरीक्षकसहित ४ जनाविरुद्ध अदालतको अवहेलनाको मुद्दा अगाडि बढाउनुपर्ने छ । 

सर्वोच्चले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकी र महानगरीय प्रहरी वित्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरलाई अदालतमा हाजिर हुन निर्देशन समेत दिएको छ  ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया