ललितपुरमा धमाधम अपाङ्गमैत्री फुटपाथ बन्दै

 फागुन १८, २०७६ आइतबार १८:२९:५३ | मल्लिका थापा
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाभित्रका सडकमा अपाङ्गमैत्री फुटपाथ बन्न थालेका छन् । महानगरपालिकाले शारीरिक रूपमा अशक्त भएकाहरूका लागि 'ह्वीलचेयर' मैत्री फुटपाथ निर्माण गर्न थालेको हो ।

महानगरले पुल्चाेकको महानगरपालिकाको कार्यालय आसपासमा रहेको पुरानो फुटपाथ भत्काएर नयाँ फुटपाथ निर्माण गर्न थालेको महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख रुद्र गौतमले जानकारी दिनुभएको छ ।

उहाँले महानगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने महानगरको योजना रहेको बताउनुभयो ।

चार लेनको सडकमा कम्तीमा १२ फिटको फुटपाथ हुनुपर्ने सडक मापदण्ड छ, बीचमा आँखा नदेख्ने व्यक्तिले लठ्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड हो । 

तर काठमाण्डौ उपत्यकाको धेरै मुख्य सडकको फुटपाथ मुश्किलले तीन फिट र कतिपय ठाउँमा त्योभन्दा पनि साँघुरो छ, त्यसैले फुटपाथमा सहजै हिँड्न सक्ने अवस्था छैन । फुटपाथमा रुखसँगै पसल पनि हुने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

यसै सन्दर्भलाई ध्यानमा राखेर मेयर चिरिबाबु महर्जनले महानगर अपाङ्गता भएकाहरूप्रति सकारात्मक भएको बताउनुभएको छ । उहाँले महानगरभित्र निर्माण भएका सार्वजनिक शौचालय अपाङ्गमैत्री भएको र निर्माणको क्रममा रहेका अरु शौचालयहरूलाई समेत अपाङ्गमैत्री बनाइने महानगरको योजना रहेको बताउनुभयो ।

अपाङ्गता भएकाको संवेदनशीलतालाई बुझेर काम गरेको भन्दै महानगरपालिकामा लिफ्ट पनि प्रयोगमा ल्याइएको उहाँँले बताउनुभयो । यस्तै छिट्टै अपाङ्गमैत्री विद्युतीय बस सञ्चालन गर्ने तयारी पनि महानगरले गरिरहेको छ ।

‘साधारण र अपाङ्गमैत्री फुटपाथ निर्माण गर्न यस वर्ष ५० लाख रुपैयाँ छुट्याएका छौँ', महानगरका प्रवक्ता राजु महर्जनले भन्नुभयो ।

यसैगरी सडक वरिपरी बत्ती राख्न नेपाल विद्युत् प्राधिकरणसँग स्मार्ट बत्तीका लागि सम्झौता भइसकेकाले सडक तथा फुटपाथमा अबको केही महिनामै बत्ती जडान हुने महर्जनले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया