विद्युत आयोजना विस्तारका लागि संखुवासभामा १२ हजार रुख काटिने

 फागुन १९, २०७६ सोमबार १०:३०:१२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । 

९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो । 

डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले अरुण तेस्रोको २२० केभीअन्तर्गत पावरहाउस र ड्यामसाइटमा ५ हजार ४०१ वटा रुख काटिने जानकारी दिनुभयो । 

कोशी कोरिडोर २२० केभीअन्तर्गत २२० वटा र अरुण तेस्रोको ड्यामसाइट जाने ३३ केभी अन्तर्गत १ हजार ९ सय १७ वटा रुख काटिने छ । यस्तै अरुण तेस्रोको ४०० केभी अन्तर्गत ३ हजार ८ सय ४७ वटा रुख काटिने भएको पराजुलीले बताउनुभयो ।

अरुण तेस्रोको २२० केभी अन्तर्गत चिचिला गाउँपालिका-२ पुखुवामा रहेको पावारहाउस गृह र मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा बन्ने ड्यामसाइट जाने रुटमा ५ हजार ४०१ वटा रुख काटिँदैछन् । 

अहिलेसम्म यस क्षेत्रका झण्डै ९० प्रतिशत रुख काटिसकिएको सहायक वन अधिकृत पराजुलीले जानकारी दिनुभयो । त्यसैगरी सुनसरी–धरान–धनकुटा हुँदै संखुवासभा र भोजपुरसम्म जोडिने २२० केभी प्रसारण लाइनको कोशी कोरिडोरअन्तर्गत ७३० वटा रुख काटिने भएको छ ।

९०० मेघावाटको अरुण तेस्रोको पिलुवा हाइड्रोपावरबाट ड्यामसाइट फ्याक्सिन्दा लैजाने ३३ केभी प्रसारण लाइन अन्तर्गत १ हजार ९१७ वटा रुख काटिने भएको छ। 

अरुण तेस्रो ९०० मेघावाटबाट उत्पादित विद्युत्त संखुवासभा, भोजपुर, खोटाङ्ग, उदयपुर र सिरहा हुर्दै भारत लैजाने ४०० केभी प्रशारण लाइन अन्तर्गत ठाउँहरुमा ३ हजार ८४७ वटा रुखहरु काटिने भएको छ । 

‘अरुण तेस्रो प्रसारण लाइनअन्तर्गत निर्माण कम्पनी सतलजले रुख काट्ने अनुमति मागेको थियो । वन मन्त्रालयसँगको पत्राचारपछि रुख काट्ने काम अन्तिम चरणमा पुगिसकेको छ । अन्य प्रशारण लाइनमा पनि रुख काट्ने अनुमतिका मन्त्रालयमा फाइल पठाएका छौ, काट्ने आदेश आएको छैन ’पराजुलीले भन्नुभयो ।

विद्युत् प्रसारण लाइन हुने क्षेत्रमा धेरै रुखहरु काटिने भएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ दशमलव १८ हेक्टर वन प्रयोग गरेको छ ।

 वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानुनी प्रावधान छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया