सवारी दुर्घटनामा सप्तरीका पत्रकार खतिवडाको मृत्यु, प्रहरीसहित ३ जना गम्भीर घाइते

 साउन ९, २०७५ बुधबार २०:१७:३८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा बुधबार भएको दुर्घटनामा परि एक जना अग्रज पत्रकारको ज्यान गएको छ ।

दुर्घटनामा एक प्रहरी हवल्दारसहित ३ जना घाइते भएका छन् । विराटनगरबाट राजविराज आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रो बस र विपरीत दिशामा जाँदै गरेको ना ५ ख ६१० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ का ६५ वर्षीय रामप्रसाद खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

मृतक खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य हुनुहुन्थ्यो । पञ्चायत कालदेखिनै पत्रकारिता पेशा सुरु गरेका खतिवडाले मातृभूमि साप्ताहिकमा लामो समयसम्म काम गर्नुभएको थियो ।

दुर्घटनामा मोरङ्गको मोतिपुर– ६, का ३० वर्षीय प्रहरी हवल्दार श्रवण माझी, सप्तरीको राजविराज नगरपालिका १ का ४५ वर्षका मित्यानन्द झा र सुनसरीको दुहवी १० का ५२ वर्षका अर्जुन ठकुरी घाइते हुनुभएको छ । घाइते मध्ये प्रहरी हवल्दार माझीको अवस्था गम्भीर छ । प्रहरी चौकी फकिरामा कार्यरत माझी बढुवापछि भर्खरै बाराको कोल्वीमा सरुवा भएका हुनुभएको थियो ।

घाइते सबैको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया