नेपाली भूभाग डुबाउने भारतका १९ संरचना, सरकार सधैं चुप

 साउन १०, २०७५ बिहिबार ११:३७:५१ | मदन पौड्याल
unn.prixa.net

काठमाडाैं – जमिन जलमग्न हुँदा धानको बेर्ना डुबेका छन् । खेत समेत नदेखिने गरी पानीले ढाकेको छ । धानका बेर्ना कुहिएर पानीमाथि तैरिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ भगवानपुरका सागिर साहलाई महलीसागर बाँधले हरेक वर्ष यसैगरी दुःख दिन्छ । खेतमा बाढी पसेर उब्जाउ नै हुन दिदैन ।

यशोधरा गाउँपालिका ६ रंगपुरकी सारजहाँ खातुनलाई पनि बर्सेनि यस्तै समस्या हुन्छ । बाँधका कारण आएको बाढीले धानबाली नै डुबेपछि बालबच्चालाई के खुवाउने र परिवार कसरी पाल्ने भन्ने पिरलो थपिन्छ ।

आफ्नो भूमिमा सिँचाइका लागि भारतले कपिलवस्तुको सीमा क्षेत्रमा महलीसागर बाँध बनाएको छ । सीमापारि लोभलाग्दो उब्जनी हुँदा वारि भने बर्सेनि यसैगरी बालीनाली चौपट हुने गरेको छ । खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ ।

यस्तै सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले धार परिवर्तन गर्दा हजरियाका बासिन्दा उस्तै समस्यामा परेका छन् । बाढीकै त्रासले रातमा निद्रा लाग्न छाडेको स्थानीय महेश बरालले गुनासो पोख्नुभयो । बाढी पसेर किसानले लगाएको बालीमा क्षति गरेको छ ।

यी त यो वर्षको बाढी र डुवानले परेका समस्या हुन् । भारतले सीमामा निर्माण गरेका ब्यारेज, बाँध र तटबन्धले तराईका सयौं वस्ती र खेतीयोग्य जमिन डुबानमा परिरहेको छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाईंदैन । तर नेपालको सीमाको ३० मिटरदेखि ३ किलोमिटरसम्म भारतले नेपाली भूभाग डुब्ने गरी संरचना बनाएको छ ।

४ वटा वैध र १५ वटा अवैध गरी भारतले सीमा क्षेत्रमा बनाएका १९ वटा संरचनाले तराईका विभिन्न ठाउँमा डुबान हुने गरेको छ । भारतले भिन्न–भिन्न १९ ठाउँमा बनाएका बाँध र तटबन्धसँगै सडकले पनि हरेक वर्ष सीमा क्षेत्रमा समस्या पार्ने गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनुभयो ।

यी हुन् भारतले बनाएका वैध बाँध, ब्यारेज र नहर 

महाकालीको शारदा ब्यारेज, गण्डक नहर, टनकपुर बाँध र कोशी ब्यारेज मात्रै नेपालका तर्फबाट हस्ताक्षर भएका हुन् । बर्सेनि समस्या पार्ने ५६ ढोका सहितको कोशी बाँधको साँचो भने भारतकै हातमा छ । कोशी ब्यारेजमा भारतले बाढी आउँदा ५६ ढोकामध्ये अहिलेसम्म धेरैमा ३७ मात्रै ढोका खोलेको छ । तर, भारतले दशगजा क्षेत्रमा मापदण्ड विपरित पनि १५ वटा बाँध तथा तटबन्ध बनाएको छ ।

अवैध बाँध र तटबन्ध

कपिलवस्तुको सीमा क्षेत्रमा १५ ढोका सहितको ३० मिटर लामो महलीसागर बाँध छ । यो बाँधले वर्खा र सुख्खा याममा पनि नेपाली भूभाग डुबाउने गरेको छ ।

धौलीगंगा बाँधले दार्चुलामा सकस छ । गिरिजापुरी बाँधले बर्दिया र कैलालीको दक्षिण पूर्वमा डुबान हुन्छ । लक्ष्मणपुर बाँध पनि भारतले एकलौटी रुपमै निर्माण गरेको हो । नेपालबाट बग्ने पश्चिम राप्ती नदीमा सीमा क्षेत्र नजिक यो बाँध छ ।

लक्ष्मणपुर बाँधसँगै जोडेर भारतले २ सय २५ किलोमिटर लामो ५ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्यो । यसले बाँकेमा असर पार्छ । दाङको सीमा क्षेत्रमा पर्ने कोइलाबास तटबन्धकै कारण तीन हजार बढी नागरिक प्रभावित हुँदै आएका छन् । ५० मिटर लम्बाइ रहेको बाँधको उचाइ २ मिटर रहेको छ । रुपन्देहीको मर्चवार नजिक रसियावाल खुर्दलोटन र अर्को डण्डा फरेना बाँध छ ।

रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा ८ किलोमिटर लामो लालबकैया तटबन्ध छ । त्यस्तै रौतहटमै बैरगनिया १५ किलोमिटर लामो १२ फिट उचाइको बाँध छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदीको प्राकृतिक बहावलाई नै मोडिदिएको छ ।

सर्लाही र रौतहटको सीमामा बागमती तटबन्ध छ । धनुषा र सिराहाको सीमा भएर भारत बग्ने कमला नदीमा कमला तटबन्ध छ । सिराहा तटबन्ध पनि दशगजा क्षेत्रमै निर्माण गरिएको छ । यो तटबन्ध ३ किलोमिटर लम्बाइ २० फिट चौडाइमा फैलिएको छ । 
भारतले बाँध बनाएर नेपाली भूभाग डुबाएको अर्को बाँध सप्तरीको लालापट्टि नदीमा निर्माण गरेको खाँडो र कुनौली पनि हो ।

लुना बाँध मोरङ जिल्लाको बक्राह नदीमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह र भारतमा लुना नदीमा आफ्नो भूभागतिर बनाएको छ ।

सडक पनि समस्या

नेपाल र भारतको बीचमा एक हजार ८ सय ८० किलोमिटर लामो सीमारेखा छ । तराईका २० जिल्लामध्ये १३ जिल्लाका १५ ठाउँमा संरचना बनेका छन् । तराई जलमग्न बनाउने संरचनामा सडक पनि एक हो भन्नुहुन्छ, सीमाविद् श्रेष्ठ । भारतले नेपालको सीमानासँगै पूर्व पश्चिम राजमार्ग बनाएको छ । उहाँका अनुसार यो राजमार्ग १७ सय ६० किलोमिटर लामो छ भने १० फिट अग्लो र सय फिट चौडा छ । वर्खाको बेला नेपालबाट बगेर जाने पानीले सहजै निकास नपाउनाले डुबानको समस्या हुन्छ ।

किन खुलेर बोल्न सक्दैन सरकार ? 

नदीको प्राकृतिक बहाव थुनिएपछि मानवीय र भौतिक क्षति बढ्दै गएको छ । बाढीले ल्याएको बालुवा थुप्रिएर नदी माथि र गाउँ तल हुँदै गएका छन् । सानो झरीले पनि गाउँ डुबाउने खतरा छ ।

बर्सेनि बाँधको संख्या थपिँदै गएको छ । सीमा क्षेत्रका नागरिकले विरोध पनि गर्दै आएका छन् । तर उनीहरुको आवाज सुनिएको छैन । अन्तर्राष्ट्रिय प्रावधान अनुसार जस्तोसुकै सम्झौता भए पनि नदीमा पाँच प्रतिशत पानी जीवजन्तुका लागि छोड्नुपर्छ । तर भारतले हिउँदमा बाबियो र परालको बुझो लगाएरै सबै पानी लैजाने अनि बर्खामा चाहिँ पानीको धार नेपालतिरै मोडिदिने गर्दै आएको छ । 

यति हुँदा पनि नेपालले भारतलाई दबाब दिन सक्दैन । ‘भारतले तराईका जिल्लामा पर्ने सीमा नदीमा बाँँध बाँधेर नेपाली भूभाग डुबानमा पार्दा पनि नेपाल सरकार भने खुलेर बोल्न सक्दैन’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले भन्नुभयो । नेपाल र भारत दुबैपक्षको ५/६ वटा समस्या समाधान गर्ने समिति बनेको भए पनि नेपाली पक्ष कमजोर हुँदा अहिलेसम्म समाधान ननिस्केको उहाँको बुझाई छ । 

यी समितिले सुख्खा बेलामा कुराकानी गर्छन्, तर बाढीको बेलामा बाढी आयो आयो भन्नुबाहेक नियन्त्रण गर्ने विकल्प छैन । डुबान समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले जतिसक्दो छिटो आवश्यक पहल गर्नुपर्नेमा सीमाविद् श्रेष्ठले जोड दिनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०७५

मदन पौड्याल

राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउने मदन पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ। उहाँलाई फेसबुकमा र ट्विटरमा  भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया