कालिकोटका झण्डै २ हजार घरमा शुद्ध खानेपानीका धारा

 फागुन २४, २०७६ शनिबार ११:२३:१९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालिकोटका ४ वटा स्थानीय तहका झण्डै २ हजार घरमा अहिले शुद्ध खानेपानी सहितका धारा जडान गरिसकिएको छ । यहाँका पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका नगरपालिकाले धारा जाेड्ने कामकाे पहल गरेका हुन् । 

पलाँता गाउँपालिका

पलाँता गाउँपालिकाले पलाँताका ५ सय ६ घरधुरीमा खानेपानी पुर्‍याइएको छ । पलाँता गाउँपालिका र वाटर एड नेपालले आर्थिक सहयोगमा किर्डाक नेपालले खानेपानी आयोजना निर्माणका लागि सहजीकरण गरेको हो ।

पलाँता गाउँपालिकाले पहिलो गाउँ सभाबाट तीन वर्षभित्र पलाँताका सबै घरहरुमा खानेपानी धारा पुर्या‍उने गरी महत्त्वाकांक्षी योजना बनाएको थियो । प्रदेश सरकारबाट अघिल्लाे वर्ष १० करोड रुपैयाँ बजेट पाएपछि गाउँपालिकाले सबै वडामा खानेपानी पुर्‍याउन सर्भे डिजाइन र मूल ट्यांकी निर्माणको काम सकेको छ ।

गाउँपालिकाका ८ र ९ नम्बर वडाका बाडदेव, कालचिउरी, सुनावाडा, बालुवा, दलितटोल, बेर्सनकोटलगायत बस्तीका ५ सय ६ घरमा धारा जडान भइसकेका छन् । अघिल्लाे वर्ष थिर्पुका २ सय ७ घर र यस वर्ष ८ र ९ नम्बर वडाका बाँकी २ सय ९९ घरमा मिटरसहितका धारा जडान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बलमे बताउनु भयो ।

थिर्पुमा घरघरमा धारा भएपछि स्थानीय महिला खुशी भएका छन् । ‘पहिले खोलाको पानी खानुपर्थ्यो, चेल घरमै धारा छ, पानी बोक्न खर्च हुने समय अन्य काममा लगाएका छौँ’, पलाँता–९, कालचिउरीकी ४५ वर्षीया मैनादेवी बमले भन्नुभयाे । उहाँका अनुसार कुलोको पानी खाँदा २०६३ मा फैलिएको झाडापखालाबाट गाउँमा ११ जनाको ज्यान गएको थियो । 

रास्कोट नगरपालिका

रास्कोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । नगरका सबै वडाका घरघरमा धारा पु¥याउन २० करोड रुपैयाँको डिजाइन स्टिमेट तयार भइ बजेट जुटाउन पहल भइरहेको छ ।

वडा नम्बर ३ र ६ का चार सय घरमा धारा जडान भइसकेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयाे । नगरपालिकाले सिप्टीमा जलाशय बनाएर खानेपानी, विद्युत् र सिँचाइ हुने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयाे ।

खाँडाचक्र नगरपालिका

त्यस्तै, खाँडाचक्र नगरपालिकाको वडा नं १ मा पर्ने मान्मबजार र वडा नं ७ को पिलीमा पनि घरघरमा धारा जडान भएका छन् । वडा नंं १ का धाराहरुमा भने नियम खानेपानी नआउने गरेको गुनासो छ । 

तिलागुफा नगरपालिका

तिलागुफा नगरपालिकाको राँचुली र चिल्खायाँमा पनि घरघरमा धारा पुगेको नगरप्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयाे । उहाँले नगरका अन्य वडामा पनि घरघरमा धारा पुर्‍याउन काम भइरहेको बताउनुभयाे ।

नरहरिनाथ गाउँपालिका

नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ गोठीमा यसअघि नै घरघरमा धारा जडान भइसकेको छ । माडेगाउँसहितका बस्तीमा धारा जडानको काम भइरहेको छ । यस वर्षमात्र ५ करोड रुपैयाँका खानेपानी आयोजना सुरु भएका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टको भनाइ छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया