नीति तथा कार्यक्रममा समर्थन गर्न प्रतिपक्षी दललाई नेम्वाङको आग्रह

 जेठ ११, २०७५ शुक्रबार १४:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ११ – समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई आव्हान गर्नुभएको छ । 

उहाँले निर्वाचनका समयमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको स्पष्टसमेत पार्नुभयो । चुनावको बेलामा गरेको बाचा र प्रतिवद्धताका आधारमा नीति तथा कार्यक्रम आएकाले यो जनअनुमोदित र जनताको जनादेशमा आधारित रहेको उहाँले दावी गर्नुभयो ।

ठूलो दल र सत्तापक्षको दम्भ आफूहरुमा नरहेको भन्दै उहाँले सरकारसँग मिलेर काम गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । 

उहाँले देश र जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुन सक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानको कार्यान्वयनलाई सबैको साझा दायित्व हो भनिएकाले संघीयतालाई नीति तथा कार्यक्रमले आत्मसात गरेन भन्न नमिल्ने तर्क गर्नुभयो ।

राष्ट्रपतिलाई महारानी बनाउन खोजेको भनेर पनि बैठकमा टिप्पणी भएको भन्दै उहाँले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुखसँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया