भोटे कुकुर : भेडी गोठका इमान्दार सिपाही

 फागुन २७, २०७६ मंगलबार १५:२२:२८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – सयौँ भेडाको बथान र जंगलको बास । चिसो छल्न बेसी झर्दा र गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने वा जंगली जनावरको आक्रमणमा पर्ने डर भेडापालकलाई हुने गर्दछ । तर रुकुम पूर्वका भेडापालक किसानलाई भने डर छैन । कारण, उनीहरुलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ ।

वफादार जनावरको रुपमा चिनिने कुकुर साथमा हुँदा उनीहरु ढुक्क हुन्छन् । रुकुम पूर्वका भेडी गोठालाले भेडालाई विभिन्न जंगली जनावर तथा अन्य आक्रमणबाट जोगाउन भोटे कुकुर पाल्ने गरेका छन् । 

भेडाको चरणका लागि वर्षैभरि रुकुम पूर्व, बाग्लुङ, रोल्पा र रुकुम पश्चिमका विभिन्न पहाड र बुकी–पाटनहरुमा घुमन्ते जीवन बिताउँछन्, रुकुम पूर्वका भेडापालकहरु । उनीहरुले गोठै पिच्छे भोटे कुकुर पाल्न भने छोड्दैनन् । भेडी गोठको इमान्दार सिपाहीको रुपमा किसानहरुले भोटे कुकुरलाई साथमै राख्ने गरेका छन् ।

एउटा गोठमा १२ वटासम्म

चिसो ठाउँ र भोटमा पाइने भएकोले यसलाई भोटे कुकुर भनिन्छ । रुकुम पूर्वका भेडापालक किसान रामवीर बुढामगरको भेडी गोठमा पनि भोटे कुकुर छन् । भोटे कुकुर गोठमा हुँदा आफूहरु ढुक्क हुने गरेको रामवीर बताउनुहुन्छ । भोटे कुकुरले घर र गोठको सुरक्षा इमानदारीपूर्वक गर्ने गरेको रामवीरको भनाइ छ । 

अर्का भेडापालक किसान कलबहादुर बुढामगरले गाउँघरमा काठे कुकुर पालिने गरेता पनि आफूहरुले भोटे कुकुर पालेको बताउनुभयो । कुकुरले गोठालेको काम पनि गर्ने गरेको भन्दै उहाँ थप्नुहुन्छ, ‘यसले बाघ, स्याल लखेट्छ र भेडालाई जोगाउँँछ ।’ भोटे कुकुरबिना कुनै पनि भेडी गोठ सुरक्षित नहुने उहाँहरुको विश्वास छ । त्यसैले भोटे कुकुरको पालन अनिवार्यजस्तै भएको छ । 

एक जना भेडापालक किसानसँग १२ वटासम्म भोटे कुकुर हुन्छन् । यी कुकुरहरु भेडी गोठको वरिपरि पहरा दिएर बसेका हुन्छन् । भेडालाई बथानबाट बाहिर जान नदिन, बाहिरबाट हुन सक्ने आक्रमण र चोरी रोक्न उनीहरु चनाखो बनेर बसेका हुन्छन् । 

आयु २० वर्ष

भोटे कुकुर शिकारी कुकुर पनि हो । यसले खरायोलगायतका जंगली जनावरको शिकार पनि गर्ने गर्दछ । किसानहरुका अनुसार वर्षमा एक चोटी बच्चा जन्माउने यो कुकुरको आयु १५ देखि २० वर्षसम्म हुन्छ । यसले एक पटकमा १ देखि ४ वटासम्म बच्चा जन्माउँछ । 

हेर्दा डरलाग्दो देखिने यो कुकुर प्रायः दिनभरि सुत्छ भने रातभरि चनाखो भएर बस्छ र आफ्नो क्षेत्रमा कुनै पनि शंंकास्पद गतिविधि हुन दिँदैन । यसको भुकाइबाट नजिक पर्न जो केहीलाई पनि डर लाग्छ । तर आफ्नो मालिकलाई भने यसले एकदमै विश्वास गर्छ । नयाँ मान्छे र अन्य जनावरको प्रवेशलाई यसले मालिकको अनुमतिबिना रोक्ने गर्दछ । 

कुकुरको किनबेच

करिब दुई हजार मिटरमाथिको लेकाली क्षेत्रमा पाइने यो भोटे कुकुरको किनबेच पनि हुने गरेको छ । यिनै किसानले पालेको कुकुरलाई बेच्दा सानोलाई ८ हजारदेखि ठूलोलाई २० हजारसम्म बेच्ने गरेको बताउँछन् ।

भेडापालक असले विकले भोटे कुकुरको बिक्रीबाट पनि आम्दानी हुने गरेको बताउनुभयो । उहाँले आफूले सानो छाउरो ९ हजारमा किनेको र पालेर बिक्री गर्दा २० हजार रुपैयाँमा बेच्ने सुनाउनुभयो ।

उहाँका अनुसार हिउँदमा बढीजसो भोटेका छाउराहरु बिक्री हुने गरेका छन् । भोटे कुकुरको माग सहरी क्षेत्रमा समेत बढेको पाइन्छ । सहरी क्षेत्रबाहेक छिमेकी जिल्ला र गाउँमा समेत भोटे कुकुर किनेर लग्ने गरेका धेरै छन् ।  

उपचारको अभाव

हिमाली क्षेत्रमा पालिने भोटे कुकुरलाई बेला बेलामा हुने विभिन्न रोगका सङ्क्रमणबाट जोगाउन कुकुर मालिकलाई भने गाह्रो हुने गरेको छ । त्यसैले कुकुरहरु बिरामी हुँदा घरेलु उपचारको भर पर्नुपर्ने हुन्छ । पायक पर्ने ठाउँमा प्रभावकारी पशु स्वास्थ्य सेवाको अभाव भएको किसानहरुको गुनासो छ । 

भिडियाे हेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत २९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया