गएकाे संस्करणकाे उपविजेता टाेटनह्याम च्याम्पियन्स लिगकाे प्रिक्वार्टर फाइनलबाटै बाहिरियाे

 फागुन २८, २०७६ बुधबार ६:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टोटनह्याम हट्स्पर युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । जर्मन क्लब लिप्जिगसँग तीन–शून्यकाे पराजय भोगेपछि गएकाे संस्करणको फाइनलिस्ट टोटनह्यामको यात्रा सकिएको हो ।

दश वर्षअघि स्थापना भएको लिपजिगले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा एक–शून्यकाे जित निकालेको लिपजिगले आफ्नो मैदानमा तीन गोल थप्दा समग्रमा टाेटनह्याम चार–शून्यले पराजित भयाे । 

मार्सल स्याबिट्जरले पहिलो हाफमा नै दुई गोल गरेपछि टोटनह्याम दबाबमा परेकाे थियो । १० औँ मिनेटमा स्याबिट्जरले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । २१ औँ मिनेटमा पोस्ट नजिकैबाट एन्जेलिनोको पासमा हेडर गर्दै लिप्जिगलाई समग्रमा अग्रता दिलाए ।

पहिलो हाफमा दुई गाेल गरेकाे लिपजिगले दोस्रो हाफमा थप एक गोल थप्यो । ८७ औँ मिनेटमा इमिल फोर्सबर्गले गोल गरे । स्याबिट्जरको ठाउँमा मैदान प्रवेश गरेपछिको पहिलो शटमा नै उनले गोल गरेका थिए । 

 इन्ज्युरीको मारमा रहेको टोटनह्याम खेलमा फर्कन सकेन र पराजित भयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया