सन्दीप सम्मिलित एसिया ११ र विश्व ११ बीचकाे खेल काेराेनाका कारण स्थगित

 फागुन २९, २०७६ बिहिबार ९:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने भनिएको एसिया ११ र विश्व ११ बीचकाे प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।

बङ्गलादेश क्रिकेट सङ्घले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सेइख मुजीबुर रहमानको जन्मदिनको अवसर पारेर बङ्गलादेश क्रिकेट सङ्घले यो प्रतियोगिता गर्न लागेको थियो ।

ढाकामा हुने भनिएको प्रतियोगितामा एसिया ११ बाट विराट कोहली, लसिथ मालिङ्गा लगायतका खेलाडी खेल्ने तयारीमा थिए । यस्तै टिममा नेपाली खेलाडी सन्दीप लामिछाने पनि परेका थिए ।

तर बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सूचना नआउँदासम्मका लागि प्रतियाेगिता स्थगित भएको बताए । यसका साथै बोर्डले एआर रहमानको साङ्गीतिक कार्यक्रम पनि स्थगित गरेको छ । सेरे बाङ्गला राष्ट्रिय रङ्गशालामा हुने कार्यक्रमका लागि बोर्डले तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे थियो ।

पछिल्लो पटक कोरोना भाइरस (काेभिड–१९) को त्रासका कारण हरेक देशले सावधानी अपनाइरहेका छन । जसका लागि सुरक्षा व्यवस्थामा कडाइ गर्नुका साथै जथाभाबी भिड गर्न रोक लगाएको छ । बङ्गलादेश सरकारले पनि कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाइरहेको छ ।

बोर्डले अरु कार्यक्रम स्थगित भए पनि ढाका प्रिमियर लिग क्रिकेट भने तोकेको समयमा नै हुने बताएकाे छ । याे प्रतियोगितामा धेरै समर्थकको उपस्थिति नहुने भन्दै प्रतियोगिता गर्न लागेको हो । यसका साथै जिम्बाब्वेसँगको टी–२० सिरीजमा पनि बोर्डले टिकट बिक्रीमा रोक लगाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया